होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वायत्त संस्था ‘मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम)’ ले विश्वविद्यालय अनुदान आयोग (UGC) बाट गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (QAA) प्रमाणपत्र प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगद्वारा बिहीबार आयोजित एक समारोह बीच आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) लाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयाे।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले आफ्नो मन्तव्यका क्रममा QAA प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट परिवारलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा थप गुणस्तर वृद्धि गर्दै जानेमा विश्वस्त रहेको बताउनुभयाे ।
.jpg)
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतमले मन्तव्यका क्रममा मुसोम, गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (QAA) प्रमाणपत्र प्राप्त गर्न सफल कर्णाली प्रदेशकै पहिलो शैक्षिक संस्था भएकोमा मध्यपश्चिम विश्वविद्यालय, कर्णाली प्रदेश र समग्र देशकै ऐतिहासिक एवं गौरवको विषय भएको बताउँदै समग्र मध्यपश्चिम विश्वविद्यालय नै QAA प्राप्त गर्नतर्फ अगाडि बढिरहेको उल्लेख गर्नुभयाे ।
मुसोमका निर्देशक डा. सुशील कुमार शाहीले मुसोमलाई गुणस्तरीय शैक्षिक संस्था बनाउन स्कुलसंग सम्बन्धित सम्पूर्ण महानुभावहरुको सामूहिक प्रयास र मिहेनतले सफलता हासिल गरेको बताउँदै आगामी दिनमा समेत गुणस्तर कायम गर्दै यसलाई थप परिस्कृत गर्दै अगाडि बढ्ने कुरा बताउनुभयाे ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति एवं पीआरटी (PRT) संयोजक प्रा.डा. केशरजंग बराल सम्मिलित समितिले गरेको मूल्यांकन र विश्वविद्यालय अनुदान आयोगद्वारा निर्धारण गरेका विभिन्न मापदण्ड तथा सुचाङ्कहरु पूरा गर्दै विशेषज्ञहरूको टोलीले विस्तृत मूल्यांकन गरे पश्चात मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टलाई उक्त प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीकाे अध्यक्षतामा सञ्चालन भएकाे कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतम, विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा. शंकरप्रसाद भण्डारी, मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शोभाखर कँडेल, आयोगका गुणस्तर सुनिश्चितता एवं प्रत्यायन निर्देशक प्रा.डा. रेजिना मास्के, आयोगका पदाधिकारीहरु, मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारी, मुसोमका डाइरेक्टर तथा प्राध्यापकलगायतको उपस्थिति रहेको थियो ।
