ट्रेण्डिङ

होमपेज / समाज

विशेष आवश्यकता शिक्षाका लागि सूचना प्रविधि विषयक कार्यशाला सम्पन्न

नेपालगाथा २०८१ पौष २५ गते बिहीबार ०८:३०:१५ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय, छांङवोन नेसनल युनिभर्सिटी दक्षिण कोरिया (Changwon National University, South Korea) तथा लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेसनल कपरेसन (Leading University Project for International Cooperation - LUPIC) को संयुक्त आयोजनामा “विशेष आवश्यकता शिक्षाका लागि सूचना प्रविधि” (IT Technology for Special Education) विषयक कार्यशाला बुधबार वीरेन्द्रनगर सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालय ग्य्राजुएट स्कुल अफ एजुकेशनमा सम्पन्न भयाे ।

उद्घाटन समारोहमा बोल्नुहुदै प्रमुख अतिथि एवं उपकुलपति प्रा.डा. गौतमले नेपाल र दक्षिण कोरिया बीचको विगत देखिको सुमधुर सम्बन्ध बारे उल्लेख गर्दै यस कार्यशालाका माध्यमबाट विशेष आवश्यकता शिक्षा अध्ययनरत विद्यार्थीहरुले सूचना प्रविधि सम्बन्धी उल्लेख्य लाभ लिने कुरामा आफु विश्वस्त रहेको बताउँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयाे । कार्यक्रमका विशेष अतिथि प्रोफेसर डा. सु-ह्युवोन लीले थप दुइ वटा रोबोट हस्तान्तरण गर्दै कार्यशालाको उदेश्यमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यशालाको उद्घाटन सत्र लगत्तै मध्यपश्चिम विश्वविद्यालय ग्रयाजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीअन्तर्गत कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागका उप-प्राध्यापक पन्च देव भट्टले विशेष आवश्यकता शिक्षा विभागमा अध्ययनरत विद्यार्थीहरुलाई अल्बर्ट एआई रोबोट (Albert AI Robot) को संचालन र यसको प्रयोग गरी गरिने ब्लक प्रोग्रामिङ्ग बारे जानकारी तथा अभ्यास गराउनु भएको थियो । साथै विशेष आवश्यकता शिक्षाको क्षेत्रमा यस प्रकारको नवीन प्रविधिको प्रयोग गरी फरक क्षमता भएका विद्यार्थीहरुलाई समेत समान शिक्षा प्रदान गर्न सकिने सम्बन्धमा जानकारी तथा अभ्यास गराइएको थियो । कार्यशालामा विभिन्न सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु सहभागी भएका थिए ।

ग्र्याजुएट स्कुल अफ एजुकेशनका डीन प्रा.डा. यम बहादुर कार्कीको अध्यक्षतातामा सञ्चालन भएकाे कार्यक्रममा शिक्षा विभागका विभागीय प्रमुख उप-प्रा. चन्द्रप्रकाश आचार्यले उद्घाटन समारोहमा स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संचालन उप-प्रा. डा. विष्णु कुमार खड्काज्यूले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विभागका विभागीय प्रमुखज्यूहरु, प्राध्यापक, उपकुलपति सचिवालय सदस्य, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top