होमपेज / समाज
विष्णु शर्मा, दैलेख । दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्याँस अन्वेषणको कार्य सत प्रतिशत सकिएको छ । २०८१ वैशाख २८ गतेदेखि सुरु गरिएको ड्रिलिङको काम ३ हजार ९ सय ४० मिटर पुगेको छ । ४ हजार मिटर जमिनमुनि ड्रिलिङ गर्ने अन्तिम लक्ष्य राखिएको अन्वेषण कार्य ४ हजार देखि ४ हजार पाँच सय मिटरसम्म जमिन मुनि ड्रिलिङ पाइप पु¥याउने अभियान छ ।
पेट्रोलियम पदार्थको भण्डारण पत्ता लगाउने अभियानअन्तर्गत यो कार्य सञ्चालनमा छ । अहिलेसम्मको अन्वेषणको कार्यले उत्साहित बनाएको खानी तथा भूगर्भ विभागका पदाधिकारीहरूले जानकारी दिएका छन् । अझैँ यकिन भन्न सकिने अवस्था त छैन तर जमिनमुनि लिकेज ग्याँसहरू देखिएका छन् । अहिले काम निरन्तर जारी छ ।
अहिलेसम्म सकारात्मक सङ्केत देखिएका छन् । चिनियाँ टोलीले हरेक मिटरमा सङ्कलन गरेको नमुनाको विशिष्ट अध्ययन गर्न चीनमै लिनुपर्ने भएकाले अन्तिम नतिजा पर्खन भने चिनियाँ टोलीको रिपोर्ट नै कुर्नुपर्ने पदाधिकारीहरूको भनाई छ ।
भण्डारण पत्ता लागेपछि मात्र आर्थिक विश्लेषण गरेर उत्पादनका लागि थप कामहरू अगाडि बढाइने भएको छ । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्न चीन सरकारसँग सहमति भएसँगै चीन सरकारको २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा अन्वेषणको काम सुरु गरिएको थियो । यो परीक्षण सफल भए दैलेखको अर्को स्थानमा पनि अन्वेषणको कार्य सुरु हुने खानी तथा भूगर्भ विभागका पदाधिकारीहरूले जानकारी दिएका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सम्झौता भएको यो परियोजना वर्तमानमा पनि ओली प्रधानमन्त्री भएकै बेलामा सम्पन्न हुने र देशको आर्थिक अवस्था सुधारको एउटा चरण सुरु हुने आशा गरिएको छ ।
कहाँ छ पेट्रोलियम अन्वेषण स्थल
दैलेख सदरमुकामको नारायण नगरपालिका, दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाको संगमस्थल शिरस्थान नजिकै जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि ४५ रोपनी जग्गा सरकारले लिएर अन्वेषणको काम सुरु गरिएको छ ।
पेट्रोलियम अन्वेषण स्थल, मध्य पहाडी राजमार्गसँगै जोडिएको स्थानमा रहेको छ । कर्णाली प्रदेशको रारा घुम्न जाने पर्यटकहरू समेत अहिले यो स्थानमा पेट्रोलियम अन्वेषण स्थल हेर्न आउने गरेका छन् । दैलेख जिल्लाको मध्य पहाडी सडक खण्डको १ सय २५ किलोमिटर सडक पूर्ण रूपमा कालोपत्रे सम्पन्न भएसँगै जाजरकोट, रुकुम, जुम्ला, हुम्ला, मुगु, सुर्खेत र दैलेख यात्रा गर्ने यात्रुहरू समेत यो स्थान हेर्न दैनिक सयौँको संख्यामा दैलेख आउने गरेका छन् । दिनहुँ २ देखि ३ सयसम्म पर्यटकहरू आएर फोटो खिच्ने गरेको स्थानीयको भनाई छ । अहिले जलजले क्षेत्रमा होटेल व्यवसाय गर्ने व्यापारीहरू पनि निकै खुसी देखिएका छन् ।
दैलेख सदरमुकामको नारायण नगरपालिकाबाट २० मिनेट, दुल्लु नगरपालिकाबाट ३० मिनेट र भैरवी गाउँपालिकाबाट ३० मिनेटमा यो क्षेत्रमा पुग्न सकिने भएपछि देशभर जुनसुकै स्थानबाट आएका आन्तरिक र बाह्य पर्यटकहरू समेत यो स्थानमा पुग्न थालेका छन् । धमाका दैनिकबाट ।