होमपेज / समाज
काठमाडौँ । दैलेख लगायत कर्णालीका विभिन्न व्यक्तिहरूलाई परेका समस्याहरूको सारथी बनेको दैलेखी सेवा समाज काठमाडौँले १९औँ वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवलाई सम्बोधन गर्दै सभामुख देवराज घिमिरेले समाजले सेवा भावले काम गरेकोमा प्रशंसा गर्दै अझैँ मानव सेवामा समर्पित हुन आग्रह गरे ।
दैलेखी सेवा समाजले देशलाई मानवीय एकतामा जोडेको छ यस्तो कुरा अन्य जिल्लाले पनि सिक्नुपर्ने बताउँदै सभामुख घिमिरेले दैलेखको कला संस्कृति, इतिहास विशिष्ट भएकाले यसको खोज अध्ययन र अनुसन्धानका लागि सबैले दैलेख पुग्नुपर्नेमा जोड दिनुभयो ।
दैलेखी सेवा समाज काठमाडौँका अध्यक्ष प्रताप शाहीले दैलेखी सेवा समाजले दैलेखलाई काठमाडौँ लगायतका जिल्लाहरूलाई जोडेको बताउनुभयो । उनले विदेशमा पनि दैलेखका कला संस्कृति पहिचान र प्रवद्र्धन गर्नका लागि समाजले मानवीय सेवाहरू प्रवाह गरेको बताए । कोरोना कहरमा पनि समाजले सेवाका कामहरु गरेको बताउँदै अध्यक्ष शाहीले देउसी भैलो खेलेर संकलित रकमले विभिन्न रोगबाट पीडित व्यक्तिहरूलाई सहयोग गरिरहेको बताए ।
वार्षिक उत्सवका अवसरमा दैलेखी सेवा समाज काठमाडौँले विभिन्न क्षेत्रमा रहेर काम गरिरहेका व्यक्तिहरूलाई सम्मान गरेको छ । लामो समयदेखि रक्तदान मार्फत मानवीय सेवामा जोडिएको दैलेखी सेवा समाजले वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
वार्षिक उत्सवकै अवसरमा दैलेखको समग्र विकास, कला संस्कृति, इतिहास समेटिएको ज्वाला सन्देश पुस्तकको समेत विमोचन गरिएको छ ।