होमपेज / समाज
काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । उनी पत्रकार महासंघकाे इतिहासमा पहिलाे महिला अध्यक्ष बनेकी छन् ।
महासंघको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले ४ हजार २ सय ८२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २ सय ३ मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले दुई सय ७० र लालसिंह लामाले ९६ मत प्राप्त गरे ।
वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले ४ हजार २ सय ३० मत प्राप्त गरी निर्वाचित हुँदा निकतम प्रतिस्पर्धी रोशन पुरीले २ हजार ८ सय ८६ मत प्राप्त गरे ।
उपाध्यक्ष महिलामा नितु पण्डितले ४ हजार ७ सय ५ मत प्राप्त गरी विजयी हुँदा गङ्गा पौडेल बरालले दुई हजार छ सय ४४ मत प्राप्त गरिन् ।
उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्दले ४ हजार २ सय ९२ मत प्राप्त गरी विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी सुभाषप्रसाद साहले २ हजार ८० मत प्राप्त गरे ।
महासचिवमा रामप्रसाद दाहालले ४ हजार ८४ मत प्राप्त गरी विजयी हुँदा निकतम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेले १ हजार ९ सय २९ मत प्राप्त गरे । सचिव खुलामा रमेश खतिवडाले ३ हजार ४ सय मत प्राप्त गरी जित निकाले । सचिव महिलामा सोनी शर्माले ४ हजार ३ सय ४७ मत प्राप्त गरी विजयी भइन् ।
त्यस्तै, सचिव आदिवासी जनजातिमा सविन प्रियासनले ३ हजार ५ सय ३५, सचिव मधेशीमा अशोककुमार तिवारीले ३ हजार ८ सय ५८ मत प्राप्त गरी विजयी भए । सचिव दलिततर्फ प्रकाश धौलाकोटीले ४ हजार १ सय १०, सचिव एशोसिएटतर्फ बैकुण्ठराज पराजुलीले ३ हजार छ सय ४५ मत प्राप्त गरी जित हासिल गरे । कोषाध्यक्षतर्फ रामकृष्ण अधिकारीले ३ हजार ८ सय ४७ मत प्राप्त गरी विजयी भए ।
कोशी प्रदेशतर्फबाट केन्द्रीय सदस्यमा कमल रिमालले ५ सय २७ मत र शङ्कर खरेलले ४ सय ४२ मत, मधेश प्रदेश सदस्यमा राजु विश्वकर्मा २ सय ९७ मत र राजेशकुमार कर्णले ३ सय ७६ मत प्राप्त गरी विजयी भए ।
बागमती (उपत्यका बाहेकका) केन्द्रीय सदस्यमा नवराज पथिकले ३ सय ६८ र नारायणप्रसाद अधिकारीले ४ सय ५० मत प्राप्त गरी विजयी भएका छन् ।
गण्डकी प्रदेश सदस्यमा कृष्ण केसी ३ सय ३० मत, केवी रानाले ३ सय ८१ मत प्राप्त गरे भने लुम्बिनी प्रदेश सदस्यमा रामराज पोखरेलले ५ सय ६० मत र विकास बन्जाडेले ४ सय ७३ मत प्राप्त गरी विजयी भए ।
कर्णाली प्रदेश सदस्यमा तुलाराम पाण्डेले २ सय ८८ र नगेन्द्रप्रसाद उपाध्यायले ३ सय २१ मत प्राप्त गरी जित निकाले । सुदूरपश्चिम प्रदेश सदस्यमा योगेन्द्रबहादुर बलायरले ३ सय ९७ र सुरेश पन्तले ३ सय मत प्राप्त गरी विजयी भए ।
उपत्यका प्रदेश सदस्यमा अर्जुन पन्तले ४ सय ५९ र सूर्य सुवेदीले छ सय ६८ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
प्रतिष्ठान प्रदेशतर्फ वीरेन्द्र ओलीले चार सय र सविता शर्माले चार सय ८७ मत प्राप्त गरी विजयी भए । संस्थागत प्रदेश (एशोसिएट)तर्फ पवित्रा मुडभरीले दुई सय नौ र मनुका कुँवरले तीन सय एक मत प्राप्त गरी जित निकालिन् ।
खुला सदस्यमा छविलाल तिवारीले तीन हजार चार सय ७०, भूपेन्द्र आचार्यले तीन हजार पाँच सय ८२, मुकुन्दप्रसाद भण्डारीले तीन हजार सात सय २१, रामेश्वर कार्कीले तीन हजार छ सय ३० र लवदेव ढुङ्गानाले तीन हजार आठ सय ३०मत प्राप्त गरी निर्वाचित भए ।
मधेशी महिलातर्फ रुवीकुमारी रौनियारले चार हजार एक सय ८५, आदिवासी जनजाति महिलातर्फ माला पालुङ्वाले तीन हजार सात सय ३७ मत, खस आर्य महिलामा लिला शाह योगीले तीन हजार आठ सय १० मत प्राप्त गर्दा दलित महिलातर्फ भने यसअघि नै रीता बुढाथोकी निर्विरोध निर्वाचित भएकी थिइन् ।
दलित सदस्यमा सिकेन्द्र पासवानले तीन हजार तीन सय १६ मत प्राप्त गरी विजयी हुँदा दलित सदस्यमा सावित्री रसाइली (निर्विरोध) निर्वाचित भएकी थिइन् । आदिवासी जनजाति सदस्यमा भरत जर्घा मगरले चार हजार ५० मत प्राप्त गरी विजयी भए भने आदिवासी महिला सदस्यमा देविका घर्ती मगर निर्विरोध निर्वाचित भएकी थिइन् ।
मधेशी सदस्यमा राजकरण महतोले तीन हजार आठ सय ९३, मधेसी सदस्य महिलामा ललिताकुमारी साहले चार हजार चार सय नौ मत प्राप्त गरी निर्वाचित भए । अपाङ्गता भएका सदस्यमा भूपराज बस्यालले तीन हजार पाँच सय ५७, अल्पसङ्ख्यक सदस्यमा लक्ष्मण थामीले चार हजार तीन सय ७३ मत प्राप्त गरी विजयी भए ।
लेखा समिति संयोजकमा केसी लामिछानेले चार हजार एक सय ९४ मत प्राप्त गरी निर्वाचित हुँदा सोही समितिको सदस्य खुलामा केशवप्रसाद बोहराले चार हजार एक सय २५ र लेखा समिति सदस्य महिलामा रुक्मिणि पोखरेलले चार हजार ८९ मत प्राप्त गरी जित निकालिन् । महासंघको निर्वाचन यही मंसिर २८ गते भएको थियो ।