होमपेज / समाज
काठमाडाैं | स्वरसम्राट नारायण गोपालको ३४औँ स्मृति दिवस मनाइएकाे छ । उक्त अवसरमा तीन श्रष्टालाई सम्मान गरिएको छ । नारायण गोपाल सङ्गीत कोषले बुधबार साँझ एक कार्यक्रम आयोजनागरी ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ मार्फत सङ्गीततर्फ सङ्गीतकार बुलु मुकारुङ, गायनतर्फ कुमार बस्नेत र गीत रचनातर्फ शिवशङ्कर थापालाई सम्मान गरिएको हो ।
स्वरसम्राट नारायण गोपालसँग सामिप्यता रहनुभएका र सङ्गीतमा विशेष योगदान दिएका श्रष्टालाई योगदानको कदरस्वरूप जनही ५१ हजार र ताम्रपत्रबाट सम्मान प्रदान गरिएको कोषका अध्यक्ष दीपक केसीले जानकारी दिए । 'स्वरसम्राट नारायण गोपालको विषयमा हामीले जति चर्चा गरेपनि पुग्दैन,' उनले भने, 'अहिलेको पुस्ताले पनि उहाँको गीत मन पराउनाले उहाँको गीतसङ्गीत कति बुलन्द रहेछ भन्ने प्रस्ट्याउँछ । उहाँले नेपालीलाई कालजयी गीत दिनुभएको छ ।'
अध्यक्ष केसीले बुधबार देशभर उनको सम्झनामा विभिन्न कार्यक्रम पनि भएका जानकारी दिए । उनले धुम्वाराहीमा नारायण गोपाल सङ्गीत कोषले आफ्नो भवन निर्माण गरिरहेको पनि बताए ।
सम्मानित भएका सङ्गीतकार मुकारुङले नारायण गोपाल जस्तो व्यक्तिको नामसँग जोडिएको सम्मान पाउनु आफ्नो लागि विशेष महत्व रहेको बताए । उनले भने, 'नारायण गोपाल सङ्गीतको विश्वविद्यालय हुनुहुन्छ । विगत छ दशकदेखि समकालीन सुरकर्मीसम्म उहाँको गीत पहिलो रोजाइमा पर्नुले उहाँको क्षमतालाई प्रस्ट्याउँछ । यस्ता धेरै कारणले उहाँ स्वरसम्राट हुनुभएको हो । यो सम्मान मेरो लागि अस्कर अवार्ड भन्दा ठूलो छ । उहाँको गीत प्रत्यक्ष सुन्न पाउनु, सामीप्यता राख्न पाउनु मेरा लागि गौरवको विषय हो ।'
विसं १९९६ असोज १८ गते जन्मिएका स्वरसम्राट नारायण गोपालको विसं २०४७ मङ्सिर १९ गते निधन भएको थियो । प्रत्येक वर्ष मङ्सिर १९ गते उहाँ र उहाँका गीतसङ्गीतलाई स्मरण गर्दै स्मृति दिवसलाई मनाउने गरिन्छ ।