होमपेज / समाज
पोखरा । रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा थपिएको १३ दिनको म्याद सकिएपछि आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ । लामिछानेमाथि सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।
पोखराको सूर्यदर्शन सहकारीको करिब ५ करोड रुपैयाँ काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोपमा गोर्खा मिडियाका अध्यक्ष जीबी राई, तत्कालीन प्रबन्धक रवि लामिछाने, सञ्चालक छविलाल जोशी र कुमार रम्तेल विरुद्ध उजुरी परेको छ ।
संसदीय छानबिन विशेष समितिले पनि उनीहरूलाई दोषी देखाउँदै थप अनुसन्धानको सिफारिस गरेपछि रवि र छवि पक्राउ परेका हुन् । जीबी राई अझै फरार रहेका छन् ।
यसैबीच, चितवनको सहारा सहकारीको रकम पनि गोर्खा मिडियामा प्रयोग गरी अपचलन गरेको आरोप लामिछानेमाथि लागेको छ । चितवन जिल्ला अदालतले लामिछानेसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन् ।