होमपेज / समाज
काठमाडौं । सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार अब धरहरा चढ्न प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क लाग्नेछ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तोकिएको मन्त्रालयले जनाएकाे छ ।
विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् । यसअघि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिँदै शुल्क पनि मन्त्रिपरिषद्ले नै स्वीकृत गरेको छ ।
त्यस्तै, धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार तोकिएको छ ।
त्यस्तै, धरहरा परिसरमा व्यावसायिक भिडियो छाँयाकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रुपैयाँ तोकिएको छ ।