ट्रेण्डिङ

होमपेज / समाज

सहसचिव र उपसचिव ४१५ पदमा पदपूर्तिका लागि लोकसेवा आयोगमा माग

नेपालगाथा २०८१ कार्तिक २८ गते बुधबार १७:१५:१० मा प्रकाशित

काठमाडौं । सरकारी कार्यालयहरूको सेवा प्रवाहमा समस्या आइरहेको गुनासो बढेपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन नदिने बताएका छन् ।

तीनवटै तहमा दरबन्दी अनुसार ठूलो संख्यामा कर्मचारी पूर्ति हुन नसकेकाले आवश्यकता अनुसार कर्मचारीको दरबन्दी पूर्ति गर्न नसकिएको उनको भनाइ छ । यद्यपि, नीतिगत र व्यवस्थापन तहमा जनशक्तिको कमी हुन नदिने गरी राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका ४१५ पदमा पदपूर्तिका लागि लोकसेवा आयोगमा माग भइरहेको जानकारी दिए ।

‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी माग गरेका कुनै पनि कार्यालयमा मन्त्रालयमा भएकै कर्मचारीको व्यवस्था गरी अधिक भिड हुने कार्यालयहरू जस्तोः जिल्ला प्रशासन, यातायात, मालपोत, राहदानी विभागलगायतमा पठाउने गरेको छ,’ मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उनले भने, ‘तर, तीनवटै तहमा दरबन्दी अनुसार ठूलो संख्यामा कर्मचारी पूर्ति हुन नसकेकाले आवश्यकता अनुसार कर्मचारीको दरबन्दी पूर्ति गर्न सकिएको छैन । त्यसका लागि नीतिगत र व्यवस्थापन तहमा जनशक्तिको कमी हुन नदिने गरी राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका (सहसचिव र उपसचिव) पदका ४१५ पदमा पदपूर्तिका लागि लोकसेवा आयोगमा माग गरिएको छ ।’

मन्त्रालयले अहिले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन प्रशासनिक सङ्गठनहरूको संरचनालाई कार्यबोझका आधारमा समयसापेक्ष रूपमा परिवर्तन गर्दै लगेको मन्त्री गुप्ताको भनाइ छ । सङ्घीय मन्त्रालय र कार्यालयमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) कार्य सम्पन्न गरी समग्रमा सङ्घीय कार्यालयमा २१० वटा दरबन्दी कटौती गरिएको उनले बताए ।

यस्तै, उच्च व्यवस्थापन तहमा नेतृत्व विकासमा सहयोग पुर्याउने गरी २५ जना सहसचिवलाई तालिम प्रदान गरी कर्मचारीको क्षमता विकास र कर्मचारी व्यवस्थापनमा मन्त्रालय सक्रिय भएको दाबी उनको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top