ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रपति पौडेल आइतबार कोप–२९ मा सहभागी हुन अजरबैजान जाने

नेपालगाथा २०८१ कार्तिक २१ गते बुधबार १०:०४:५३ मा प्रकाशित

काठमाडौं। अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल यही कात्तिक २५ गते आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । अजरबैजानका राष्ट्रपति इल्हम अलियभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लागेका हुन् ।

राष्ट्रपति पौडेलले कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ ।

सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानी तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ । विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमध्ये पर्छ । बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौं उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउनेछ ।

सम्मेलन यही कात्तिक २६ सुरु भइ मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भइ राष्ट्रपति पौडेल यही कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कने कार्यतालिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top