होमपेज / समाज
जाजरकोट । कर्णाली प्रदेशमका मुख्यमन्त्री यामलाल कंडेलले नागरिकले जनप्रतिनिधिबाट नयाँ किसिमको कार्यसम्पादन खोजिरहेको बताएका छन्। मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले प्रदेश विशेष कार्यक्रम र सार्वजनिक सेवा प्रवाह छलफल कार्यक्रमको जाजरकोट सदरमुकाम खलंगामा शुभारम्भ गर्दै मुख्यमन्त्री कंडेलले परिवर्तित परिस्थितिमा जनताले नयाँ किसिमको कार्यसम्पादन खोजिरहेकाले जिम्मेवारी सम्हाल्ने सबैले जनताको आशयलाई बुझन आग्रहसमेत गर्नुभयो ।
परिस्थिति विगतभन्दा भिन्न छ, जनताले सेवा प्रवाहलगायतका विषयमा नयाँ नयाँ अनुभूतिको महशुस खोजिरहेका छन, मुख्यमन्त्री कंडेलले भने, तपाईहरुको काम सम्पादन पनि सोही अनुरुप बनाउन जरुरी छ । मुख्यमन्त्री कंडेलले सरकारका जुनसुकै संरचनाको पहिलो काम नागरिकप्रति जवाफदेही जिम्मेवार बन्नु रहेकोमा मातहतका निकायलको ध्यानकर्षण गराए । उनले भने, जिम्मेवारीमा बसेकामाथि नागरिकले प्रश्न गर्नुलाई अन्यथा मान्नुभएन । तपाईहरुको पहिलो काम भनेको नागरिकप्रतिको जिम्मेवारी र जवाफदेही नै हो ।
सरकारले योजनाको लागि बजेट बिनियोजन गर्ने तर कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कंडेलले कार्तिकसम्मका सबै योजनाहरु ठेक्का अह्वानदेखि सम्झौता गरिसक्न निर्देशनसमेत दिएका छन् । ‘मन्त्रालय मातहतका निकायहरुले प्रदेश सरकारमा पेश गरेको लिखित प्रतिवद्धता जनाइसक्नु भएको छ,’ उनले भने, ‘त्यही गतिमा अब काम गर्न प्रदेश मातहतका प्रमुख ज्यूहरुलाई निर्देशन दिन्छु ।’
.jpg)
निर्णयका लागि मात्रै निर्णय गर्ने परिपाटीको अन्त्य गर्न र प्रदेशसभाले पारित गरेका नीति, कार्यक्रम तथा बजेट प्रभावकारी कार्यान्वयको तहमा लैजानका लागि कर्मचारीको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ । ‘योजना कार्यान्वयनमा कुनै विवाद देखिएको अवस्थामा स्थानीय तहसँग समन्वय गर्नुस्’ कंडेलले भने, ‘राजनीतिज्ञको अनुहार पूरा नै भए पनि अब नयाँ शिराबाट काम गरेर अघि बढ्नुपर्नेछ ।’ भूकम्पबाट प्रभावित भएका विद्यालय र स्वास्थ्य चौकी पुननिर्माणका लागि प्रदेश सरकारले विनियोजन गरेको ५० करोड रुपैयाँ परिचालनका लागि विद्यालय छनौट कार्य जारी रहेकाे जानकारी मुख्यमन्त्री कंडेलले दिए ।
विनियोजन गरिएको रकममध्ये २५ करोड जाजरकोट र तीन करोड रुपैयाँ रुकुम पश्चिमका लागि रहेकाले यसै आर्थिक वर्षमा सम्पन्न गर्ने गरी भूकम्पबाट क्षतीग्रस्त विद्यालय र स्वास्थ्य चौकीको भवन निर्माण गरिने मुख्यमन्त्रीले उल्लेख गरे । उनले मुख्यमन्त्री रोजगार कार्याक्रमलाई निरन्तरता दिन वडा तहबाट आएका योजनामा बजेट पठाउने गरी सरकारले काम गरिरहेको उल्लेख गरे ।

संघ तथा प्रदेशबाट अगाडि सारिएका ससर्तका योजनाहरु समयमै अगाडि बढाउन आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री कंडेलले यसमा प्रदेश सरकार विशेष योजनाका साथ लागि परेकाले मतहतका निकायको प्रभावकारी भूमिका रहने बताए। कर्णालीको आन्तरिक आम्दानी न्यून रहेको अवस्थामा कसरी स्रोतको वृद्धि गर्न सकिन्छ भनेर त्यसतर्फ पनि छलफल गरिने उनले बताए । प्रदेश सरकारले अगाडि बढाएका योजनाहरुमा भुक्तानिका लागि कुनै समस्या नहुने कंडेलको भनाई छ ।
प्रदेश सरकारको नीति, कार्यक्रम, बजेट कार्यान्वयनको अवस्था र चुनौती, भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाण, सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्या लगायतका विषयमा स्थानीयस्तरमै गएर छलफल गर्ने उदेश्यले मुख्यमन्त्री ४ दिने जिल्ला भ्रमणमा निस्केका हुन् । उनी जाजरकोटपछि रुकुम पश्चिम र सल्यान जाने कार्यक्रम छ ।