होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले जनताको सुरक्षा र मुलुकमा देखापरेको विषम परिस्थितिसँग सामना गर्न नेपाल प्रहरी उच्च मनोबलका साथ खटिँदै आएको बताएका छन् । ६९औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नागरिकको सुरक्षा सुनिश्चित गर्न आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाती राखेर देश र जनताको सुरक्षामा तैनाथ प्रहरीको समर्पणभाव सबैको प्रेरणाको स्रोत रहेको बताए ।
‘अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा प्राप्त गरेको ख्याति हामी नेपाली र हाम्रो राष्ट्र नेपालका लागि पुँजी रहेको छ, सीमित साधन र स्रोतका बाबजुद यो पुँजी निर्माणमा राज्यले सुम्पिएको जिम्मेवारीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपाल प्रहरीले देखाएको कार्यकुशलताका लागि सिङ्गो प्रहरी सङ्गठनलाई म धन्यवाद दिन चाहन्छु,’ मुख्यमन्त्री कंडेलले भने ।

मुलुकको विकास, समृद्धि र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु अत्यन्त जरुरी रहेको चर्चा गर्दै उनले भने ‘आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको प्रहरीको भूमिका अहंम् हुन्छ ।’ नागरिकलाई कानुनी शासनको प्रत्याभूत हुने गरी प्रहरी सबै खालका अवाञ्छित गतिविधि र गलत क्रियाकलाप नियन्त्रणमा पूर्ण सक्षम छ र सक्षम रहिरहनेछ भन्नेमा पूर्ण विश्वास रहेको मुख्यमन्त्री कंडेलको भनाई छ ।
बदलिँदो परिस्थितिमा सूचना प्रविधिको विकाससँगै अपराधका नयाँ÷नयाँ आयामहरू विकसित भइरहेको परिप्रेक्ष्यलाई दृष्टिगत गर्दै अपराध नियन्त्रण र अनुसन्धानमा नेपाल प्रहरी आगामी दिनमा प्रविधिमैत्री संयन्त्र र विधिको भरपुर उपयोग गर्न अझ सक्षम बन्नुपर्नेमा उनको जोड रहेको छ । संविधानतः प्रदेश मातहत प्रदेश प्रहरी रहने व्यवस्था भए पनि संघीय कानुनको अभावमा प्रदेश प्रहरी प्रदेश सरकार मातहत अझै आइनसकेको मुख्यमन्त्री कंडेलले बताए । कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले विगतदेखि नै राष्ट्र र जनताको सेवामा निरन्तर खट्दै आएको प्रहरी संगठन सदैब जनमुखी, पारदर्शी र छिटो छरितो सेवा प्रवाहमा प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा कर्णाली प्रदेश प्रहरी विद्यालयको आयोजनामा ‘साइबर सुरक्षा आजको आवश्यकता’ सम्बन्धी शीर्षकको निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । यस्तै अन्तर प्रहरी कार्यालय ब्याडमिन्टन प्रतियोगितामा प्रथम, द्वितीय हुने खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र, धेरै पटक रक्तदान गर्ने प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र, प्रहरी कार्यमा सहयोग पु¥याउने विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई सम्मानपत्र, उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरणसँगै, प्रहरीलाई निःशुल्क जग्गा उपलव्ध गराउने जग्गादातालाई कदरपत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।