होमपेज / समाज
सुर्खेत । सरस्वती प्राथमिक विद्यालय वीरेन्द्रनगर १२ चनौटेको सामाजिक परीक्षण शनिबार सम्पन्न भयो । उक्त कार्यक्रममा विद्यालयका लागि रु एक लाखको अक्षय कोष समेत जम्मा भएको विद्यालयका प्रधानाध्यापक यशोदा खनालले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख आतिथि तथा विद्यालय सल्लाहकार समितिका संयोजक एवम् आईएनएफ सुर्खेतका अनुगमन अधिकृत लोकप्रसाद गौतमले हाम्रो विद्यालय राम्रो विद्यालय बनाउने कार्यमा खट्नुहुने ब्यबस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीप्रति अभार व्यक्त गर्नुका साथै विद्यार्थीको भविष्यका लागि सबैजना एकजुट हुनुपर्ने बताउनुभयो । साथै उहाँले विद्यालय स्थापना र संचालन गर्न भूमिका खेल्नुहुने ब्यक्तित्वहरु प्रति श्रद्धाभाव व्यक्त गर्दै विद्यालयले भोगेका उतारचढाव र संघर्षको समीक्षा समेत गर्नुभयो ।
.jpg)
समाजिक परिक्षण समितिको तर्फबाट गंगाराम जिसीले सामाजिक परिक्षण प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको समग्र अवस्थाको बारेमा जानकारी दिनुभएको थियो ।
सोही अवसरमा समाजसेवी झंकराज काफ्लेले विद्यालयले गरेका राम्रो कामको चर्चा गर्दै अक्षय कोष स्थापनाका लागि रु ५० हजारको चेक विद्यालयलाई हस्तान्तरण गर्नुभयो । यसैगरी विद्यालयका प्रअ यशोद खनालले पनि अक्षय कोषका लागि रु ५० हजार जम्मा गर्ने घोषणा गर्नुभयो ।
सामाजिक परिक्षण कार्यक्रममा विद्यालयका पूर्वअध्यक्ष एवम् मप विश्वविद्यालयका उपप्राध्यापक कुशल बोहोरा, समाजसेवी झंकराज काफ्ले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश कामी, समाजसेवी हरिप्रसाद काफ्ले, ऐभान नेपाली, अभिभावक, बालक्लवका सदस्यहरु र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा आर्थिक सहयोग गर्ने १९ जना चन्दा दाताहरुलाई खादा सहित सम्मान पत्र प्रदान गरिएको थियो । सोही कार्यक्रममा वडा दशैं, तिहार, छठ पर्व २०८१ को अवसरमा शुभकामना आदनप्रदान पनि गरिएको थियो ।

सोही कार्यक्रममा विद्यालयको समग्र विकासका लागि सरोकारवालाहरुमा विद्यालयप्रतिको अपनत्वको विकास गर्दै प्राप्त स्रोत र साधनको मितव्ययी ढङ्गले उपयोग गर्ने निर्णय समेत भएको छ । यसैगरी विद्यालयले अधिकतम प्रतिफल प्राप्त गर्नका लागि विद्यालयका गतिविधिहरुलाई पारदर्शी एवं उत्तरदायी बनाई गुणात्मक शिक्षाका लागि विद्यालयले सामाजिक परिक्षणका अनुसूची २ का मुख्य ८ वटा मापदण्ड र सूचकका आधारमा मूल्यांकन गरी ७३.५ प्रतिशत अंक प्राप्तसहितको शिक्षक गंगाराम जि.सी.ले प्रस्तुत गर्नुभएको प्रतिवेदक माथि छलफल भएको थियो ।
यसैगरी विद्यालयको जिर्ण शौचालय र घेराबार व्यवस्थापनका लागि तत्काल पहल गर्ने विषयमा छलफल हुनुका साथै विद्यालयमा शिक्षक व्यवस्थापन र कक्षाकोठा थपका लागि पालिका र तीनवटैै तहका सरकारसँग पहल गर्ने विषयमा पनि छलफल भएको प्रअ खनालले जानकारी दिनुभयो ।
शिक्षिका सुशीला शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष एवम् समाजिक परिक्षण समितिका संयोजक चन्द्रा सुनारको अध्यक्षता सम्पन्न भएको थियो । सोही कार्यक्रममा विद्यार्थीहरुले गीत र नृत्यसमेत प्रस्तुत गरेका थिए ।