होमपेज / समाज
जुम्ला । अनुदानबाट उपलब्ध हुने नुन स्थानीय तहले वडाबाट वितरण गर्न थाले पछि नागरिकलाई सहज भएको छ । याे सुविधा भएपछि पाँच केजीको नुन खरिद गर्न एक हजार रुपैयाँ खर्च गरेर सदरमुकाम खलङ्गा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाका अनुसार यहाँस्थित साल्ट ट्रेडिङ कर्पोरेसनले यहाँका स्थानीय तहलाई वडाबाट नुन वितरण गर्न वडामा दर्ता भएका घरलगतअनुसार प्रतिव्यक्ति पाँच केजीका दरले आपूर्ति गरको बताउनुभयो । ‘यो दसैँमा नुनको अभाव हुने छैन,’ उहाँले भन्नुभयो ।
साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख नगेन्द्र थापाले पनि सबै पालिकामा नुन आपूर्ति भएको जानकारी दिँदै सदरमुकाम खलङ्गाको गोदाममा एक हजार एक सय ६० क्विन्टल नुन मौज्दात रहेको बताउनुभयो । चालु आर्थिक वर्षमा नराकोट र गोरुचौर डिपोमा एक–एक हजार क्विन्टल र सदरमुकाम खलङ्गाको डिपोमा चार हजार क्विन्टल नुनको कोटा तोकिएको प्रमुख थापाले जानकारी दिनुभयो ।