ट्रेण्डिङ

होमपेज / समाज

मुस्ताङमा बाढीबाट क्षति

नेपालगाथा २०८१ आश्विन १३ गते आइतबार ०८:११:३३ मा प्रकाशित

म्याग्दी ।  दुई दिनदेखिको लगातारको झरीका कारण मुस्ताङमा क्षति पुगेको छ । झरीका कारण सडक, नदी नियन्त्रण आयोजना र खेतीबालीमा बाढी पसेर क्षति पुगेको हो । 

बेनी-जोमसोम-कोरला सडकको जोमसोम-छुसाङ र कागबेनी-मुक्तिनाथ सडकमा पाखोबाट गेग्रानसहितको बाढी आएर भत्काएको छ । पहिरोले यसै हप्ता कालोपत्र भएको १३ किलोमिटर लामो जोमसोम-कागबेनी सडकमा क्षति पुर्‍याएको वारागुङ मुक्तिक्षेत्र गाउँ कार्यपालिकाका प्रवक्ता प्रमेश गुरुङले जानकारी दिए । 

शनिबार दिनभर जोमसोम-कोरला र कागबेनी मुक्तिनाथ सडक अवरुद्ध हुँदा स्थानीयवासी, सोह्रश्राद्धमा कागबेनीमा पिण्डदान गर्न र मुक्तिनाथ दर्शन गर्ने तीर्थयात्री तथा पर्यटकलाई आवतजावत गर्न समस्या भएको थियो । बेनी-जोमसोम-कोरला सडक आयोजना र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले डोजरको सहायतामा अवरुद्ध सडक खुलाएको प्रवक्ता गुरुङले बताए । 

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ फलेकको स्याउ बारीमा पाखोबाट आएको बाढी पसेर क्षति पुगेको छ । स्याउ बगैँचा, आलु र जौँबालीमा बाढी पसेर क्षति पुगेको वडाध्यक्ष सुरेन्द्र गुरुङले बताए। भित्र्याउने बेलाको खाद्यबाली, बजार पठाउने तयारी गरेको आलु र स्याउमा क्षति पुग्दा किसान मारमा परेका छन् । 

यसैगरी जोमसोममा कालीगण्डकी नदी नियन्त्रण आयोजनाको काम गरिरहेको निर्माण कम्पनीको डोजर खोलामा फसेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top