ट्रेण्डिङ

होमपेज / समाज

विश्वविद्यालय सबैको अपनत्व भएको साझा थलो हो – उपकुलपति प्राडा गौतम

नेपालगाथा २०८१ भाद्र २५ गते मंगलबार २३:२७:०९ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुवकुमार गौतमले विश्वविद्यालय सबैको अपनत्व भएको एउटा साझा थलो भएको बताउनुभएको छ । वीरेन्द्रनगर नगरपालिकाले  आयोजना गरेको “उपकुलपतिज्यूलाई स्वागत तथा शैक्षिक सवाल” विषयक अन्तरक्रिया कार्यक्रममा उपकुलपति गौतमले यस्तो बताउनुभएको हो ।

उपकुलपति गौतमले भन्नुभयो, ‘विश्वविद्यालयलाई थप उचाईमा पुर्याउन तथा यस क्षेत्रको शैक्षिक उन्नयनका लागि नगरपालिका तथा स्थानीय बुद्धिजिवि, समाजसेवी तथा शिक्षाप्रेमी महानुभावहरुको सहयोग र सहकार्य अपरिहार्य छ । त्यसैले सबैले विश्वविद्यालय बनाउने हातेमालो गर्दै अघि बढौं ।’

यसैगरी नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल (भण्डारी)ले “शैक्षिक प्रशासनिक र पर्यटन शहर, स्वच्छ, स्वस्थ र समुन्नत वीरेन्द्रनगर” भन्ने नगरपालिकाको मूल मन्त्र नै भएकाले शिक्षा नगरपालिकाको प्रमुख प्राथमिकतामा रहेको बताउनुभयो । 

प्रमुख ढकालले मध्यपश्चिम विश्वविद्यालयसँगको सहकार्य अत्यन्तै उच्च महत्वका साथ लिएको स्मरण गर्दै विश्वविद्यालयसँग नगरपालिका सधैं समन्वय, सहकार्य र हातेमालो गर्न तत्पर रहेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा नगर उपप्रमुख नीलकण्ठ खनाल, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशी, वडा अध्यक्ष तथा प्राध्यापकहरुले विश्वविद्यालय र नगरपालिका एवं वडाहरु बीचको सहकार्य र आपसी सम्बन्ध कसरी प्रभावकारी ढंगबाट अगाडि बढाउन सकिन्छ भन्ने बारेमा आफ्नो महत्वपूर्ण विचार प्रस्तुत गर्नुभएको थियो । विशेष गरी विश्वविद्यालयका भौतिक संरचना तथा शैक्षिक कार्यक्रमहरुको सम्पूर्ण वडाहरुमा विस्तार एवं समान पहुँच, शैक्षिक गुणस्तर वृद्धि, विद्यार्थी न्यूनीकरणको चुनौती र बढ्दो युवा विदेश पलायन विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top