होमपेज / समाज
काठमाडौं । विश्व आत्महत्या रोकथाम दिवस ‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौं, दृष्टिकोण बदलौं’ भन्ने मूल नाराका साथ भव्य रुपमा सम्पन्न भएको छ । विश्व आत्महत्या रोकथाम दिवस १० सेप्टेम्बरका अवसरमा महाराजगंजस्थित नर्सिङ्ग क्याम्पसमा स्नातकोत्तर तह प्रथम वर्ष साइक्याट्रिक विधामा अध्ययनरत विद्यार्थीहरुले सन फम्र्याक्युटिकल्स प्रालिको सहयोगमा एक सेमिनारको आयोजना गरी मनाएका हुन् ।
महाराजगंज नर्सिङ्ग क्याम्पस साइक्याट्रिक नर्सिङ्ग विभागका प्रमुख तिलारुपा भट्टराइको अध्यक्षतामा र क्याम्पस प्रमुख प्राध्यापक मुना रानाको प्रमुख आतिथ्यतामा सेमिनार कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा टियुटिएचका साइक्याट्रिक विभागका प्रमुख प्राडा सरोजप्रसाद ओझा, प्राडा मिना राना र डा सुरज शाक्य विषय विज्ञको रुपमा उपस्थिति हुनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा क्याम्पस प्रमुख प्राध्यापक मुना रानाले मानसिक स्वास्थ्य समस्या र आत्महत्यासँग सम्बन्धित समाजमा विद्यमान अन्धविश्वास र भ्रमलाई नचिरेसम्म आत्महत्याको संख्या घटाउन कठीन हुने बताउँदै कसैलाई मानसिक रुपमा अप्ठ्यारो परेको छ भने त्यसलाई सहज रुपमा लिन सक्नुपर्ने बताउनुभयो ।
.jpg)
नेपाल प्रहरीले सार्वजनिक गरेको आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन २०८१ को प्रतिवेदनले आत्महत्याको प्रमुख कारणमा मानसिक तनाव, आर्थिक भार, प्रेममा असफलता, घरेलु हिंसा, लागू औषध दुव्र्यसन, मादक पदार्थ सेवन र पारिवारिक द्वन्द्वजस्ता रहेको देखाएको छ ।
राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा संचार केन्द्रको तथ्यांक हेर्दा आव २०८०÷८१ मा ७ हजार २ सय २३ जनाले आत्महत्या गरेका छन् । यो संख्या नेपालमा मात्र नभई विश्वव्यापी रुपमा समेत बढिरहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका (डब्लुएचओ) का अनुसार विश्वमा हरेक वर्ष सात लाख मानिसले आत्महत्या गर्छन् । हरेक ४० सेकेन्डमा एकजनाको आत्महत्याका कारण मृत्यु हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । डब्लुएचओले विश्वमा आत्महत्याका कारण मर्ने मानिसको संख्या द्वन्द्व र प्राकृतिक प्रकोपका कारण ज्यान गुमाउनेभन्दा बढी भएको जनाएको छ ।
यसैगरी डब्लुएचओका अनुसार विश्वमा सबैभन्दा बढी आत्महत्या गर्ने देशहरुमध्ये नेपाल पनि एक हो । जहाँ प्रति एक लाख व्यक्तिमा नौ जनाले आत्महत्या गर्ने गर्दछन् । यो हिसाबले नेपालमा हरेक दिन १९ जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । करिब ६७ प्रतिशत मानिसहरु मानसिक रोग र मानसिक तनावका कारण आत्महत्या गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।
आत्महत्याको कारण मानसिक स्वास्थ्य समस्या देखिएको भएता पनि सामाजिक कारण नै प्रमुख रहेका छन् । जसअन्तर्गत घर, परिवार, समाजमा देखापरेका विभिन्न खालका उतार चढाव रहेको देखिन्छ । यसैगरी आर्थिक कठिनाई, घातक रोग, बलात्कार, घरेलु हिंसा, लागू औषध तथा मादक पदार्थको अत्यधिक सेवन, परीक्षामा असफल हुनु जस्ता कारणले गर्दा पनि आत्महत्या बढेको देखिन्छ ।
.jpg)
त्रिभुवन विश्वविद्यालय टिचिङ्ग हस्पिटलका प्रमुख प्राडा सरोज प्रसाद ओझाका अनुसार नीति निर्माण तहबाटै आत्महत्या सम्बन्धी कार्य गर्नुपर्दछ । उहाँका अनुसार जनसमुदायमा विभिन्न खालका शिक्षामूलक जनचेतना फैलाउने कार्यक्रम गर्ने, आत्महत्या जस्तो डरलाग्दो घटनालाई कम गर्नका लागि सबैजना सचेत हुनुपर्दछ ।
प्राडा ओझाले मानसिक रुपमा असर परेको व्यक्तिमा बोल्ने शैलीमा परिवर्तन आउने गरेको बताउनुभयो । उहाँका अनुसार खासगरी मानसिक समस्या भएका व्यक्तिहरुले आफूलाई बाँच्न मन नभएको, अरुको लागि बोझ भएको, बाच्नुको के सार छ र ? जस्तो भनिरहेका हुन्छन् भने उनीहरुको सोचमा समेत परिवर्तन भइरहने हुन्छ ।
यसका साथै मानसिक समस्या भएका व्यक्तिले मर्ने योजना तयारी गर्ने, आफ्नो सम्पत्ति अरुलाई दिने, इन्टरनेटमा मर्ने तरिका र साधनहरु कहाँ पाइन्छ भनेर खोज अनुसन्धान गर्ने, निन्द्रामा समस्या देखिने, मन उदास रहने र सोचमा नैराश्यता आउने जस्ता लक्षणहरु देखापर्ने विज्ञले बताएका छन् ।
यदि यस्तो समस्या परेका व्यक्ति कोही हुनुहन्छ भने त्यस्तो व्यक्तिले व्यक्त गरेका कुराहरुको गोपनीयता कायम राख्ने, व्यक्तिलाई हामी सँगसँगै छौँ भन्ने महसुस गराउने, व्यक्तिको आनीबानीप्रति सचेत हुने, जोखियमुक्त सामग्री तथा साधनहरुको पहुँचबाट टाढा राख्ने, व्यक्तिलाई सहानुभूतिसहित सम्मानजनक व्यवहार गर्नेजस्ता उपाय अपनाउनुपर्ने विज्ञहरुको राय रहेको छ ।