होमपेज / समाज
म्याग्दी । सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन्। हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ। उनीभन्दा अलिक पल्तिर करिब ५०० च्याङ्ग्रा तथा भेडाको बथान नजिकै चरिरहेका छन्।
धादिङका ६२ वर्षीय मेल्चा तामाङ च्यांग्रा र भेडाका बथान लिएर हिमालतिर उक्लेको गत जेठ अन्तिमतिर हो। भेडा र च्याङ्ग्रा चराउँदै तिब्बत नजिकै पुगेर घर फर्कँदै गर्दा उहाँ केही दिनअघि मुस्ताङको दामोदरकुण्ड नजिकै भेटिए। ‘१८ वर्ष भयो यसैगरी गोठालो भई हिँडेको, दौतरी कति विदेश त कति शहरतिर लागे’, उनले भने, ‘मलाई त यही भिरपाखामै रमाइलो छ।’
तामाङको दिनचर्या बिहानैदेखि राति अबेरसम्म भेडा र च्याङ्ग्रा स्याहार्दै बित्छ। लो-घेकर दामोदरकुण्ड गाउँपालिका-४ यारा र घारा गाउँका किसानका भेडाच्याङ्ग्रा चराउँदै छ हजार मिटरसम्मको उचाइमा पुगेर फर्किंदै गर्दा उनले सुनाए।
‘काम खोज्दै दौतरीहरु विदेश र सहर पसे। म मुस्ताङमै रमाएँ, नपढेकाले जहाँ गए पनि गर्ने दुःखै रहेछ, मलाई यही ठीक छ’, तामाङले भने, ‘मलाई विदेशको मरुभूमिभन्दा मुस्ताङकै भिरपाखा रमाइलो लागिरहेको छ।’
तामाङले गोठालो गरिएदिएबापत खाना र कपडाबाहेक वार्षिक एक लाख ५० हजार रुपैयाँ तलब पाउँछन्। यही आम्दानीले धादिङ झर्लाङमा रहेका श्रीमती र दुई सन्तान पाल्नुपर्छ। गोठालो जाँदा बास कहाँ बस्ने टुङ्गो हुन्न। कहिलेकाँही समयमै खाना खाने मेसो पनि पर्दैन। कहिले गोठ त कहिले ढुङ्गामुनि ओत लागेर रात काट्नुपर्ने बाध्यता छ।
यसरी बर्खामा हिमालतिर उकालो लाग्ने गोठाला उनी एक्लो भने होइन। लो–घेकर दामोदरकुण्ड गाउँपालिका-४ याराका ५८ वर्षीय नवाङ गुरुङ पनि तीन वर्षयता गोठालो गरिरहेका छन्। सात वर्ष साउदी अरबमा काम गरेपछि उनी गोठालै भई काम गरिरहेका छन्।
‘बालबच्चाको लालनपालन र घरव्यवहार चलाउन बाध्यताले भेडा, च्याङ्ग्रा गोठाला बन्नुपरेको हो’, उनले भने, ‘गरिबलाई दुःख नगरी जहाँ गए पनि हातमुख जोर्नकै लागि संघर्ष गर्नुपर्ने रहेछ।’
गर्मी बढेपछि हिमाली क्षेत्रको चिसो हावापानीमा पलाएको पोसिलो घाँस खुवाउन लेकमा लगिएका भेडा, च्याङ्ग्रा, गाईभैँसी र चौँरी विस्तारै तल झार्नेक्रम शुरु भइसकेको छ। जेठको अन्तिम साता लेक उल्किएका गोठालाहरु घुम्ती गोठ सार्दै जनावरहरुलाई बेसीतर्फ लागेका छन्।
दामोदरकुण्डमा भेटिएका मेल्चा र नवाङ जस्तै मुस्ताङका च्याङ्ग्रा गोठमा म्याग्दी, बागलुङ, धादिङ, रुकुम, रोल्पाका धेरै जना काम खोज्दै गोठाला बस्न पुग्छन्। दुःख र जोखिम धेरै हुने भएकाले किसान आफैँ गोठमा बस्दैनन्। चार÷पाँच वटा घर मिलेर एउटालाई तलब दिनेगरी गोठाला राखेर भेडाच्याङ्ग्रा पाल्ने गरिएको याराका टासी गुरुङले बताए।
‘च्याङ्ग्रापालनबाट दसैँ, तिहारजस्ता चाडपर्वमा सहर बजारमा पोसिलो र स्वादिलो मासु आपूर्ति गर्न सहयोग पुगेको छ’, उनले भने, ‘च्याङ्ग्रा गोठालाका रूपमा कतिपयले रोजगारी पनि पाएका छन्।’
चरनका लागि भिरपाखा चहार्दै दौडिने भेडाच्याङ्ग्राको पछिपछि दौडिनुपर्ने गोठाला पेशा सजिलो भने छैन। बर्खामा गोठ लिएर लेकमा जाँदा तीन महिनासम्म परिवार र आफन्तसँग सम्पर्कविहीन भएर बस्नुपर्छ। भकारीले छाएको र बारेको गोठभित्र झरी र चिसो नभनी पाठापाठीसँगै रात कटाउनुपर्छ। त्यसमाथि जङ्गली जनावरको डर उस्तै। छुट्टी र बिदा हुने कुरै भएन। मोबाइल, रेडियोमा गीत सुन्दै डाँडापाखा डुल्ने गोठालाका सुरक्षाका लागि भोटे कुकुर भने साथैमा हुन्छन्।
बारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दाको आम्दानीको मुख्य स्रोत भेडाच्याङ्ग्रापालन हो। हिउँदमा गाउँबस्ती नजिकै ल्याउने भेडाच्याङ्ग्राका लागि उपल्लो मुस्ताङका कृषक हिजोआज घाँसको जोहो गर्ने व्यस्त छन्। हिउँ परेको अवस्थामा चरनमा जान नसक्ने भएकाले च्याङ्ग्रालाई सुकाएको र साइलेज बनाएर राखेको घाँस खुवाउने गर्छन्।
भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुुस्ताङका अनुसार जिल्लाभर रहेका ६५ वटा ठूला फार्ममा ४८ हजार च्याङ्ग्रा पालिएका छन्। दशैँ तिहारका लागि गत वर्ष २३ करोड मूल्य बराबरको करिब छ हजार च्याङ्ग्रा निकासी भएका केन्द्रको तथ्यांक छ।
हिमचितुुवा, ब्वाँसो र जङ्गली कुकुरबाट भेडा च्याङ्ग्रा बचाउन गाह्रो भएको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका पासाङ डेण्डुप गुरुङले बताए। १५० वटा च्याङ्ग्रा पालेका गुरुङ वार्षिक ४० वटा हाराहारीमा बिक्री गर्छन्। जङ्गली जनावरले वर्षमा एउटै फार्ममा २० वटाभन्दा बढी भेडा च्याङ्ग्रा मार्ने गरेको सुनाए। राससबाट ।