ट्रेण्डिङ

होमपेज / समाज

हवाइ उद्धारले जोगिदै गर्भवती र सुत्केरीको प्राण

नेपालगाथा २०८१ भाद्र १२ गते बुधबार ०९:४३:२९ मा प्रकाशित

ललित बुढा, सुर्खेत । सुर्खेत दुई वर्षअघि डोल्पाको ठूलीभेरी नगरपालिका निवासी अमृता बुढालाई सुत्केरी ब्यथाले च्याप्यो । तर लामो समयसम्म पनि उनले बच्चा जन्माउन सकिनन् । बरु धेरै रगत बगेपछि उनी थला नै परिन् । गाउँमा रहको स्वास्थ्यचौकी र जिल्ला अस्पतालमा समेत उनको उपचार सम्भव भएन ।

ज्यान नै जोखिममा परेपछि स्वास्थ्यकर्मीले अमृतालाई तत्काल सुर्खेत वा नेपालगंज लैजान भने । आफन्तले अमृताको ज्यान बचाइदिन स्थानीय जनप्रतिनिधि र प्रशासनसँग हारगुहार गरे । करिब १८ घण्टापछि उनको हेलिकोप्टरबाट उद्धार ग¥यो । उनी प्रदेश अस्पताल सुर्खेतमा उपचारपछि सुत्केरी भइन् ।

विशेषज्ञ उपचार पाएपछि आमा र बच्चा दुबैको ज्यान जोगियो । अघिल्लो वर्ष साउनमा हुम्लाको खार्पुनाथकी दिफकली सार्कीलाई सुत्केरी व्यथा लाग्यो । ४० वर्षीया दिपकली हुम्लामै सुत्केरी भइन् । तर अत्याधिक रक्तश्राव भएपछि उनको जिल्ला अस्पतालमा उपचार सम्भव भएन । जिल्ला अस्पतालका डाक्टरले तत्काल जिल्ला बाहिर नलगे सुत्केरीको ज्यान नै जाने बताए ।

आफन्तले गाउँबाट बल्लतल्ल जिल्ला अस्पताल लगेका थिए । त्यहाँबाट तत्काल बाहिर लैजाने क्षमता परिवारको थिएन । हालसम्म राष्ट्रिय सडक संजालमा नजोडिएको हुम्लामा तत्काल सुविधायुक्त अस्पतालसम्म लैजाने एकमात्र विकल्प हवाइसेवा हो । वर्षात्को समय भएकाले मौसमका कारण हवाइसेवा समेत नियमित नहुँदा सुत्केरीको ज्यान बचाउन नसकिने अवस्था आयो । चाहेर पनि बचाउन नसकिने अवस्था आएपछि आफन्तहरु निराश बने । 

तर हेलिकोप्टरबाट दिफकलीको उद्धार भयो । उनको सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार भयो । समयमै उद्धार र उपचार हुँदा उनले नयाँ जीवन पाइन् । सुत्केरी अवस्थामा ज्यान गुमाउने अवस्थामा पुगेकी उनले समयमै हेलिकोप्टरबाट उद्धार भएर पुर्नजीवन पाएपछि आफन्तहरु खुशी भए । अमृता र दिफकली केवल प्रतिनिधि पात्र हुन् ।

कर्णाली र सुदूरपश्चिमका दुर्गम जिल्लामा यस्ता धेरै गर्भवती तथा सुत्केरीले नयाँ जीवन पाएका छन् । सुरक्षित प्रसूति सेवा र स्वास्थ्य संस्थाको अभावमा अहिले पनि दुर्गममा उपचार नै नपाएर गर्भवती तथा सुत्केरीले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ । यस क्षेत्रमा सुत्केरी हुन नसकेर गर्भवतीको र अत्याधिक रक्तश्राव तथा संक्रमणका कारण सुत्केरीको उपचार अभावमा मृत्यु हुने गरेको छ । 

हालसम्म धेरै गर्भवती र सुत्केरीले समयमै उपचार नपाउँदा ज्यान गुमाइसकेका छन् । तर २०७६ सालबाट सुरु भएको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरबाट उद्धार हुन थालेपछि धेरैको ज्यान जोगिएको हो । अहिले पनि दुर्गमका गर्भवती र सुत्केरी महिलाहरुलाई जिल्लामै उपचार सम्भव नभएमा हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार गराइन्छ । यो अस्पतालमा विशेषज्ञ चिकित्सक र उपचार सेवा भएका कारण पनि जोखिममा रहेका गर्भवती र सुत्केरीहरु मृत्युको मुखबाट बच्ने गरेका हुन् ।

गर्भवती र सुत्केरीको उद्धारका लागि नेपाली सेनाले पश्चिम क्षेत्रलाई केन्द्रित गरेर सुर्खेतमा एयर वेश स्थापना गरेको छ । जसअन्तर्गत कर्णाली, सुदूरपश्चिम र लुम्बिनीका दुर्गम स्थानबाट जोखिममा रहेका गर्भवती र सुत्केरीको तत्काल हेलिकोप्टरबाट उद्धार गरिन्छ ।

पछिल्लो चार वर्षको अवधिमा ३ सय भन्दा धेरै गर्भवती तथा सुत्केरी महिलाहरुको हेलिकोप्टरबाट उद्धार गरिएको छ । २०७६ सालबाट हालसम्मको अवधिमा हेलिकोप्टरबाट उद्धार गरी उनीहरुको ज्यान बचाउन सफल भएको नेपाली सेनाको उत्तरपश्चिम पृतना सुर्खेतले जनाएको छ । यस्तै चालु आर्थिक वर्षको साउनदेखि यता पनि विभिन्न स्थानबाट गर्भवती तथा सुत्केरीको हेलिकप्टरबाट उद्धार गरी अस्पतालमा पुयाइएको छ । हवाइ उद्धार कार्यक्रमले दुर्गमका गर्भवती र सुत्केरी महिला र नवजात शिशुले नयाँ जीवन पाएका छन् । दुर्गममा जोखिममा रहेका गर्भवती र सुत्केरीको उद्धारका लागि सुर्खेतलाई आधार बनाएर हेलिकोप्टर तयारी अवस्थामा राखिने गरेको सेनाको भनाइ छ । 

बढ्दै अस्पतालमा सुत्केरी हुनेको संख्या

विभिन्न निकायले सचेतनामूलक कार्यक्रम संचालन गर्न थालेपछि कर्णालीमा घरमै सुत्केरी हुनेक्रम घट्न थालेको छ । पछिल्लो समय अस्पतालमा सुत्केरी हुनेहरुको संख्या बढ्दै गएको हो । विगतको तुलनामा स्वास्थ्य संस्थामा नै सुत्केरी हुनेको संख्या वृद्धि भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाही भन्छन्, ‘अवस्था हिजोको जस्तो छैन, स्वास्थ्य संस्थामा सुत्केरी हुनेक्रम बढेको छ । यसले पनि मातृ मृत्युदर घटेको छ, स्वास्थ्य सेवाको पहुँच पनि विस्तार भएको छ ।’ सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने गर्भवती र सुत्केरीलाई प्रोत्साहन गर्न थालेपछि यो संख्या बढेको उनको भनाइ छ । 

सरकारले नियमित स्वास्थ्य संस्थामा जाँच गराउन तथा सुत्केरी हुन आएका महिलालाई प्रोत्साहन रकम प्रदान गर्दै आएको छ । प्रदेश सरकारले पनि स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई २ हजार रुपैयाँ प्रोत्साहन वापत उपलब्ध गराउँदै आएको छ । महाशाखा प्रमुख शाहीका अनुसार २ हजारका दरले स्थानीय तहमार्फत प्रोत्साहन रकम प्रदेश सरकारले वितरण गरिरहेको छ । विस्तारै नागरिकमा सचेतना बढेको, गाउँमा बर्थिङ सेन्टरहरु स्थापना भएको, जिल्लाहरुमा विशेषज्ञ सेवा विस्तार भएको र तीनै तहका सरकारले प्रोत्साहन रकम दिन थालेपछि स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढेको शाहीले बताए । यसले पनि मातृ तथा बाल मृत्युदर घटाउन सहयोग पुगेको उनको भनाइ छ । 

मातृ मृत्युदर घटाउन कर्णाली सरकारको योजना के छ ?

नेपालमा सबैभन्दा धेरै मातृ मृत्युदर भएको प्रदेश कर्णाली हो । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले पनि यसलाई पुष्टि गरेको छ । कर्णालीमा अझै पनि मातृ मृत्युदर १७२ (प्रति १ लाखमा) रहेको उक्त जनगणनाको तथ्यांकले देखाएको छ । सन् २०३० सम्ममा कर्णालीको मातृ मृत्युदर ७० मा झार्ने लक्ष्य छ । यही लक्ष्यमा पुग्नका लागि सरकारी तथा गैरसरकारी निकायले काम गरिरहेका छन् । गर्भवती र सुत्केरीका लागि सबैभन्दा जोखिम मानिएको कर्णालीमा प्रदेश सरकारले पनि विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको जनाएको छ ।

प्रदेश सरकार गठन भएलगत्तै कर्णालीमा तत्कालीन सरकारले हवाइ उद्धार कार्यक्रम संचालन गरेको थियो । दुर्गमका गर्भवती र सुत्केरीहरुको उद्धार गर्न यो कार्यक्रम संचालन गरिएको थियो । जसअन्तर्गत दुर्गममा जोखिममा रहेका गर्भवती र सुत्केरीहरुलाई हेलिकोप्टरबाट उद्धार गरेर सुविधायुक्त अस्पतालमा उपचार गरिन्थ्यो । तर यो कार्यक्रम भने हाल संचालनमा छैन । कार्यक्रमको उद्देश्य राम्रो भए पनि हवाइ उद्धार केवल पहुँचवालाले मात्र उपभोग गरेको भन्दै आलोचना बढेपछि प्रदेश सरकारले हाल यो कार्यक्रम संचालन गरेको छैन ।

हवाइ उद्धार कार्यक्रम संचालनमा नभए पनि मातृ मृत्युदर घटाउनका लागि मन्त्रालयले नीतिगत सुधार र प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका सबै जिल्ला अस्पतालमा प्रसूति सेवालाई भरपर्दो बनाइएको छ । स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाही भन्छन्, ‘सबै जिल्ला अस्पतालमा शल्यक्रियाको सुविधा उपलब्ध छ, आवश्यकता अनुसार स्वास्थ्यकर्मीलाई तालिम पनि दिएका छौं । पायक पर्ने स्थानहरुमा बर्थिङ सेन्टरहरु स्थापना भएका छन्, सचेतनामूलक कार्यक्रमहरु पनि संचालन भइरहेका छन् ।’ गर्भवती र सुत्केरीको ज्यान जोगाउनका लागि मन्त्रालयले नियमित गर्भजाँच, स्वास्थ्यकर्मीलाई आवश्यक तालिम, जिल्ला अस्पतालहरुको क्षमता विकास, आवश्यक उपकरणहरुको व्यवस्थापन, विशेषज्ञ सेवाको विस्तार, प्रोत्साहन रकम वितरण र स्थानीय तहसँग सहकार्य गर्ने लगायतका काम गरिरहेको उनले जानकारी दिए ।

वीरेन्द्रनगरले दिन्छ निःशुल्क एम्बुलेन्स र भिडियो एक्सरे सेवा

कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले गर्भवती र सुत्केरीको ज्यान जोगाउनका लागि विभिन्न कार्यक्रम संचालन गरिरहेको छ । नगरपालिकाले नगर क्षेत्रमा स्थायी बसोबास गर्ने गर्भवती र सुत्केरीलाई लक्षित गरेर यस्तो कार्यक्रम संचालन गरिरहेको हो । मातृ तथा शिशु मृत्युदर रोक्न नगरपालिकाले प्रयास गरिरहेको छ ।

नगरपालिकाको स्वास्थ्य सेवा शाखाका प्रमुख भुपेन्द्रदेव गिरीका अनुसार गर्भवती महिलाको एक पटक निःशुल्क भिडियो एक्सरे सेवा दिने गरिएको छ । यस्तै सुत्केरी हुन अस्पतालसम्म पुग्नका लागि निःशुल्क एम्बुलेन्स सेवा पनि प्रदान गर्दै आएको गिरीले जानकारी दिए । उनले भने, ‘गर्भवतीको निःशुल्क भिडियो एक्सरे हुन्छ, सुत्केरी हुनका लागि अस्पतालसम्म पुग्न एम्बुलेन्स सेवाको पनि शुल्क लाग्दैन । यसले नियमित गर्भ जाँच र अस्पतालमै सुत्केरी गराउन प्रोत्साहन भइरहेको छ ।’ यस्तै नगरपालिकाले सुत्केरी महिलालाई पोषण कोसेलीबापत १ हजार रुपैयाँ पनि उपलब्ध गराउँदै आएको छ ।

त्यसैगरी सुत्केरी भएपछिको तेस्रो र सातौं दिनमा घरमै गएर सुत्केरीको स्वास्थ्य जाँच गर्ने गरिएको गिरीले बताए । यसले पनि नगरभित्रका गर्भवती र सुत्केरीलाई सुरक्षित राख्न सहयोग पुगेको नगरपालिकाले जनाएको छ । धमाका राष्ट्रिय दैनिकबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top