ट्रेण्डिङ

होमपेज / समाज

प्रसब फिस्टुलाबारे प्रदेश स्तरीय समीक्षा सम्पन्न 

'नारकीय जीवन बिताउन बाध्य महिलाहरूको उपचारमा राहत'

नेपालगाथा २०८१ भाद्र ७ गते शुक्रबार २२:२०:२९ मा प्रकाशित

सुर्खेत । साइनिङ अस्पताल आइएनएफ सुर्खेतले प्रसब फिस्टुलाबारे प्रदेश स्तरीय समन्वय तथा समीक्षा बैठक प्रदेश अस्पताल सुर्खेतमा सम्पन्न गरेको छ । कार्यक्रममा आगामी असोज महिनामा फिस्टुला सेन्टर प्रदेश अस्पताललाई हस्तान्तरण गरिने पनि जानकारी दिइएको थियो । 

समीक्षा बैठकमा बोल्दै प्रदेश अस्पताल सुर्खेतका निमित्त निर्देशक डाक्टर गणेश थापाले फिस्टुला सेन्टरको निरन्तरताका लागि पैसा ठूलो नभइ, सोच, चिन्तन र चासो हुनुपर्ने बताउनुभयो । साथै उहाँले हस्तान्तरण पछि पनि यसको निरन्तरतामा कुनै कमी आउन नदिने बताउनुभयो ।  

स्वास्थ्य निर्देशक डाक्टर रबिन खड्काले फिस्टुला उपचारका लािग आइएनएफको सहयोगमा संचालित फिस्टुला सेन्टरले पुर्याएको  सेवा र सहयोगको उच्च प्रशंसा गर्नुभयो । डाक्टर खड्काले प्रसव फिस्टुलाको समस्याबाट नारकीय जीवन बिताउन बाध्य महिलाहरूको उपचार गरी उनीहरूको ओठमा हाँसो ल्याउन सकेकोमा आइएनएफलाई धन्यवाद व्यक्त गर्नुभयो । 

फिस्टुला सेन्टरको कार्यलाई हस्तान्तरणपछि पनि दिगो बनाउन, स्थानीय स्तरमा विषय विज्ञ तयार गर्नुपर्ने र यस कार्यमा सबैको सहयोग आवश्यक रहेको बताउँदै डाक्टर खड्काले फिस्टुला सेन्टरको निरन्तरताको लागि आफूले सम्बन्धित निकायमा वकालत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रदेश अस्पताल विकास समितिका अध्यक्ष प्रेमबहादुर घलेले मानवका लागि अभिशापको रुपमा रहेको फिस्टुला रोगको उपचारमा आईएनएफले पुर्याएको आर्थिक, प्राविधिक, उपचारात्मक तथा भौतिक सहयोगले धेरैको ज्यान जोगाउन सफल भएको बताउनुभयो । साथै उहाँले आगामी दिनमा आइएनएफसँग आर्थिक, भौतिक र प्राविधिक सहयोगका लागि निरन्तर सहकार्य र समन्वय गरिरहने बताउनुभयो । 

कार्यक्रममा साइनिङ अस्पताल आइएनएफका प्रमुख ललितबहादुर सारुले प्रसव फिस्टुलाका कारण महिलाले भोग्नुपरेको समस्या र समाधानका उपायका बारेमा जानकारी दिनुभयो । यसैगरी प्रमुख सारुले समस्या भएका व्यक्तिहरूको पहिचान गर्ने, चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, समस्याग्रस्त व्यक्तिको गृह भेट गर्नुका साथै परामर्श गर्ने र उनीहरूको निःशुल्क उपचार गर्ने जस्ता कार्य आइएनएफ सुर्खेतले गरिरहेको जानकारी दिनुभएको थियो । 

२०३४ सालदेखि सुर्खेतमा कार्य गरिरहेको आईएनएफले स्वास्थ्य सेवा प्रदान तथा सामुदायिक विकासका विभिन्न ११ वटा परियोजना सञ्चालन गरिरहेको छ । आइएनएफ एक गैर सरकारी संस्था भएको र यस संस्थाले प्रदेश सरकार, स्थानीय सरकार र निकाय मार्फत राज्यले पूरा गर्नुपर्ने दायित्वमा एक सहयोगी निकायको रुपमा कार्य गरेको बताउँदै प्रमुख सारुले परियोजनाका कार्यक्रम कार्यान्वयनमा स्वास्थ्य निर्देशनालय, प्रदेश अस्पताल, पालिकाहरू, विभिन्न विभाग, इकाई तथा शाखाहरुको साथ, सहयोग, समन्वय र सहकार्य रहँदै आएको बताउनुभयो । 

समीक्षा कार्यक्रममा फिस्टुला सेन्टरका शाखा प्रमुख कान्तप्रसाद सुवेदीले गत वर्षको प्रगति समीक्षा प्रस्तुत गर्नुका साथै आगामी वर्षको कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक, डाक्टर  साइनिङ अस्पताल आइएनएफ सुर्खेतका कर्मचारी, विभिन्न विभाग, इकाई र शाखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

प्रदेश अस्पताल विकास समिति सुर्खेतका अध्यक्ष प्रेम बहादुर घलेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन शकुन्तला सापकोटाले गर्नुभएको थियो । साथै साइनिङ अस्पताल सुर्खेतका लेप्रोसी इन्चार्ज उदयनाथ योगीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top