होमपेज / समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तनमा शिक्षकको योगदान बुझ्दै नबुझेकाहरूले शिक्षक माथि आजको समयमा पनि दमन चक्र चलाउने प्रयास गरेका बताउनुभएको छ । शनिबार नेपाल राष्ट्रिय शिक्षक संगठनको २३ औ राष्ट्रिय परिषद् बैठक तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक दायित्व जागिर भन्दा पनि ठुलो हो भनेर शिक्षकहरू संघर्षको मैदानमा रहेको ओलीले बताउनुभयो ।
‘जागिर खाएको होइन जागरण ल्याएको शिक्षकले हो’, उहाँले भन्नुभयो । ओलीले मानिस राजनीतिक प्राणी हो भन्ने कुरा समेत थाहा नभएकाले शिक्षकहरूलाई घुँडा टेकाएँ र राजीनामा गराएँ भनि अघिल्लो सरकारका एक सय दिनका उपलब्धि देखाएको भन्दै अघिल्लो सरकारकी शिक्षा मन्त्री सुमना श्रेष्ठको आलोचना गर्नुभयो । ओलीले खास गरी शिक्षक संगठनका शिक्षकहरूलाई ताकेरै लखेट्ने काम भएको बताउनुभयो ।
सामाजिक उत्तरदायित्वका काम कहिल्यै पनि पुरा नहुने बताउँदै ओलीले शिक्षकको काम पनि कहिल्यै नसकिने बताउनुभयो । समाजलाई संविधान, कानुन र प्रणाली प्रति जिम्मेवार हुनुपर्छ भन्ने सचेतना जगाउने भूमिका शिक्षकले निर्वाह गर्न आवश्यक रहेको उहाँको धारणा छ ।
शिक्षकले सामाजिक चेतना सही ढङ्गले अघि बढाउन विभिन्न माध्यमबाट काम गर्न सक्ने उहाँले बताउनुभयो । समाजमा विभिन्न खालका विकृति देखिएको बताउँदै उहाँले त्यसलाई चिर्न शिक्षकहरूलाई कार्यालय समय बाहिर पनि क्रियाशील हुन आग्रह गर्नुभयो ।
‘नत्र समाज अराजकतामा जान्छ अराजकताले कुनै गन्तव्यमा पुर्याउँदैन’, उहाँले भन्नुभयो । उहाँले अग्रगमन र लोकतन्त्र अराजकता होइन भन्ने कुरा बुझ्न र बुझाउन आवश्यक रहेको बताउनुभयो । ‘नबुझ्ने मान्छेले सामाजिक उत्तरदायित्व बुझ्दैन, राजनीति गरेको आरोप लगाउँछ, कुनै समस्या भए सरकार र शिक्षक बिच संवाद गरेर समाधान गर्न सकिन्छ‘, ओलीले भन्नुभयो ।
ओलीले अहिलेको परिस्थिति निक्कै जटिल भएको बताउनुभयो । यस्तो स्थितिमा कसरी अर्थतन्त्र सुधार गरेर अघि बढ्न सकिन्छ भन्ने कुरामा जिम्मेवार भएर लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।