होमपेज / समाज
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि अर्थात् पुरक परीक्षा आजदेखि सुरु भएकाे छ । यसअघि उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको हो । परीक्षा बिहान ११ बजेदेखि सुरु हुने छ।
सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ । तर परीक्षाफल रद्द भएकाहरुले भने पूरक परीक्षा दिन पाउने छैनन् ।
यस वर्षकाे पूरक परीक्षाका लागि देशभर पाँच सय ५० केन्द्र निर्धारण गरिएको छ । पूरक परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने छ । जसका नतिजा असोजको पहिलो हप्ता भित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।
यस वर्ष एनजी ल्याएका ५२ हजार विद्यार्थीहरु छन् । तर सबैले पूरक परीक्षाको फारम नभरेको हुनसक्ने भएकाले त्यो संख्यामा केही फरक पर्नसक्ने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएकाे छ ।
एसईईमा आधाभन्दा धेरै परीक्षार्थीको नतिजा नन ग्रेडेड (एनजी)अर्थात् कक्षा ११ मा पढ्न नपाउने भएपछि राष्ट्रिय परीक्षा बोर्डले ‘एनजी’ मा परेका सबै परीक्षार्थीलाई ग्रेड वृद्धि परीक्षाको मौका दिने निर्णय गरेको थियो ।
यसअघि अधिकतम दुई वटा विषयमा मात्रै एनजी आएका परीक्षार्थीलाई मात्रै यस्तो परीक्षा दिन पाउने व्यवस्था थियो ।