होमपेज / समाज
सुर्खेत । साइनिङ अस्पताल आईएनएफ सुर्खेतले पहुँच तथा समावेशीकरण परियोजना मार्फत पञ्चपुरी, वीरेन्द्रनगर, गुर्भाकोट र सिम्ता गाउँपालिकामा कार्यक्रम गरिरहेको छ। परियोजनाले अपाङ्गता भएका व्यक्तिहरूको पहिचान क्याम्प, स्वास्थ्य उपचार सेवा, फिजियोथेरापी सेवा, परामर्श सेवा पुनर्स्थापना सेवा, सहायक सामग्री निर्माण, मर्मत सम्भार र वितरण तथा अपाङ्गता भएका व्यक्तिहरु वा उनीहरुको परिवारलाई ब्यबसायिक तालिमका साथै सिपमूलक तालिम सहयोग प्रदान गर्दै आइरहेको छ।
अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहायक सामाग्री, कृतिम अंग, उत्पादन बिक्री तथा वितरण गर्दै आइरहेको कर्णालीमै एक सहायक सामग्री उत्पादन गर्ने निकायको रूपमा आफूलाई स्थापित गर्दै आएकाे छ । आईएनएफ सुर्खेतको मानवीय कार्यमा सहयोग पुर्याउन, पञ्चपुरी नगरपालिकाले आईएनएफ सुर्खेतलाई पाँच लाख मूल्य पर्ने इलेक्ट्रिक हट एयर ओभन मेसिन श्रावण २२ गते एक कार्यक्रमका बीच हस्तान्तरण गरेकाे छ।
इलेक्ट्रिक हट एयर ओभन मेसिन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर मुक्तिदेवी रेग्मी पुरीले आईएनएफ अपाङ्गता भएका व्यक्तिहरूको सारथी भएको र नगरपालिकाको एक सहयोगी अङ्गको रुपमा रहेको हुँदा नगरपालिकाले आफ्नो परिवारको सदस्यको रुपमा महशुस गरेको धारणा व्यक्त गर्नुभयो। साइनिङ अस्पताल सुर्खेतका संयोजक ललितबहादुर सारुले स्थानीय सरकारको साथ र सहयोगमा अपाङ्गता भएका व्यक्तिहरू तथा उनीहरूको परिवारलाई सहयोग गर्न आईएनएफ सधैं तयार रहेको विचार राख्दै प्राप्त इलेक्ट्रिक हट एयर ओभनले कृत्रिम अङ्ग उत्पादनमा सहजता हुने बताउनुभयाे । उक्त अवसरमा संयाेजक सारुले पञ्चपुरी नगरपालिकालाई सम्मानपत्र समेत हस्तान्तरण गर्नुभयो।
इलेक्ट्रिक हट एयर ओभन मेसिन हस्तान्तरण कार्यक्रममा पञ्चपुरी नगरपालिकाका उपमेयर मुक्तिदेवी रेग्मी पुरी, प्रमुख प्रशासकीय अधिकृत डिलबहादुर कार्की, हरियो खर्क अस्पताल पोखराका विशेषज्ञ डक्टर सुरज महर्जन, साइनिङ अस्पताल सुर्खेतका डक्टर अर्चना कार्की, लेप्रोसी इन्चार्ज उदयनाथ योगी, परियोजना तथा साइनिङ अस्पतालका कार्यक्रम संयोजक ललितबहादुर सारु लगायतको टिमको सहभागिता रहेको थियो भने उक्त कार्यक्रमको सञ्चालन परियोजना अनुगमन अधिकृत लोकप्रसाद गौतमले गर्नुभएको थियो।
आईएनएफ पोखरासँगको सहकार्यमा हरियो खर्क अस्पतालका विशेषज्ञ डक्टरद्वारा विशेषज्ञ सेवा प्रदान
यसैगरी श्रावण २२ गते साइनिङ अस्पताल आईएनएफ सुर्खेतले हरियो खर्क अस्पताल आईएनएफ पोखरासँगको सहकार्यमा हरियो खर्क अस्पतालका विशेषज्ञ डक्टर सुरज महर्जनको नेतृत्वमा साइनिङ अस्पताल सुर्खेतमा अपाङ्गता पहिचान, परीक्षण, उपचार तथा प्रेषण स्वास्थ्य शिविर सम्पन्न गर्याे । शिविरमा सुर्खेतका विभिन्न पालिकाका २६ जना अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो । सहभागीहरुले स्वास्थ्य शिविरबाट परामर्श, उपचार र सेवा प्राप्त गरेका थिए ।
साइनिङ अस्पताल सुर्खेतले प्रदान गर्ने सेवा सुविधाका बारेमा कार्यक्रम संयोजक ललित बहादुर सारुले व्यक्तिको आर्थिक अवस्थाको विश्लेषण गरी पालिका तथा परियोजनाको आर्थिक सहयोगमा कतिपय व्यक्तिलाई निःशुल्क सेवा प्रदान गर्ने र अन्य व्यक्तिहरूको हकमा भने सामान्य शुल्कमा पुनर्स्थापना सेवा, फिजियोथेरापी सेवा ,अकुपेशनल थेरापी सेवा, छाला रोग सम्बन्धि उपचार सेवा, सहायक सामग्री बिक्री, वितरण सेवा, मनोपरामर्श सेवा प्रदान गर्दै आइरहेको कुरा जानकारी गराउनुभयो।
पहुँच तथा समावेशी प्रयोजना पालिकाहरूको अपनत्व तथा पालिकाको अभिभावकीय भूमिका रहने गरी गुर्भाकोट, सिम्ता, वीरेन्द्रनगर तथा पञ्चपुरी नगरपालिकामा सञ्चालित छ । परियोजनाले अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्य पुनर्स्थापना सेवा प्रदान गर्ने, अपाङ्गता भएका व्यक्तिहरू तथा उनीहरूको परिवारको जीविकोपार्जन स्थितिमा सुधार ल्याउने तथा अपाङ्गताको क्षेत्रमा काम गर्ने अपाङ्गता भएका व्यक्तिहरूको संस्थाको सबलीकरण गर्ने उद्देश्य लिएर कार्य गरिरहेको छ ।
सामग्री हस्तान्तरण कार्यक्रम तथा पुनर्स्थापना समितिको बैठक सम्पन्न
यसै सन्दर्भमा गुर्भाकोट नगरपालिकाका ३ जना व्यक्तिलाई प्रदान गरिएको तालिम पश्चात र सामग्री हस्तान्तरण कार्यक्रम तथा पुनर्स्थापना समितिको बैठक श्रावन २० गते गुर्भाकोट नगरपालिकामा सम्पन्न भयो। बैठका क्रममा गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले आईएनएफसंग पालिकाको आर्थिक सहकार्य समेत रहने धारणा राख्दै यस वर्ष अपाङ्गता भएका व्यक्तिहरूको लागि सहायक सामग्री उपलब्ध गराउन गुर्भाकोट नगरपालिकाले तीन लाख आर्थिक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सामग्री हस्तान्तरण कार्यक्रम तथा पुनर्स्थापना समितिको बैठक समितिका संयोजक वासुदेव शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा नगरपालिकाका उपमेयर मैना बि क, स्वास्थ्य संयोजक पूर्णबहादुर घर्ती, महिला बालबालिका शाखा कि तुलसी बिसी, इन्जिनियर अर्जुन खत्री, जिन्सी शाखा प्रमुख चिरंजीवी गौतमको सहभागिता थियो। बैठकमा आई एन एफ, सुर्खेतका अनुगमन अधिकृत लोकप्रसाद गौतमले गत वर्ष पालिकासँगको सहकार्यका कारण अपाङ्गता भएका धेरै व्यक्तिसम्म सेवा विस्तार गर्न सकेको र यस वर्ष पनि थप व्यक्तिसम्म पुग्न पालिकाको सहयोगले उत्प्रेरणा प्रदान गरेको विचार व्यक्त गर्नुभयो।