होमपेज / समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी पुष्पलाल लोकमार्गको ठाउँ ठाउँमा बाटो परिवर्तन गर्न निर्देशन दिनुभएको छ । आइतबार साँझ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको वार्षिक प्रगति समीक्षा गोष्ठीमा बोल्दै ओलीले पुष्पलाल लोकमार्गको रामेछापमा अनावश्यक रूपमा बाटो घुमाइएकोले त्यसलाई सोझै निकाल्नु पर्ने बताउनुभयो ।
‘बाटाको एलाइनमेण्ट चेञ्ज गर्न जरुरी छ केही ठाउँमा, अनावश्यक ठाउँमा खर्च भएको छ’, ओलीले भन्नुभयो । ओलीले रामेछापको वारी बीपी मार्ग र पारी पुष्पलाल मार्ग गरेर दुईवटा मार्ग सँगसँगै खनिएको भन्दै त्यो काम आवश्यकताको आधारमा नभएको बताउनुभयो । सो सडक खोलाको सुन्दरताको लागि वा आवश्यकता भएर खनेको ? भन्दै ओलीले प्रश्न गर्नुभयो ।
खोला आफैमा सुन्दर हुने भएकोले खोलाको सुन्दरताको लागि सडक खन्नु नपर्ने उहाँले बताउनुभयो । मानववस्ती जहाँ छ र छोटो ढङ्गले जहाँ सडक लैजान सकिन्छ त्यहाँबाट सडक खन्नु पर्ने ओलीले बताउनुभयो । त्यो आजका लागि मात्र नभएर एक सय वर्ष पछिका लागि पनि गरिएको काम भएकोले त्यो बाटो छाेट्याउन उहाँले निर्देशन दिनुभयो । ओलीले काभ्रेबाट चाैँरीखोला झरेको सडक नेपालथोकको वारी घुमाएर नभई सोझै दोरम्बाबाट गाल्पा निकालेर मन्थली झार्न सुझाव दिनुभयो ।
‘माथि दोरम्बातिर शैलुङको तलबाट मन्थलीबाट आउँदा कहाँबाट पर्छ सोझो त्यतैबाट स्वाट्ट निकाल्दा बाटो छोटो पनि पर्छ, बाटो अनावश्यक रूपमा घुमाएको देख्दा ताजुब लाग्छ’, ओलीले भन्नुभयो । ओलीले यस्तो काम गर्दा कुनै राजनीतिक दबाबमा नपर्न पनि आग्रह गर्नुभयो । नेताको गाउँ त्यहाँ पर्यो, नेताको घर त्यहाँ पर्यो भनेर बाटो नघुमाउन उहाँले निर्देशन दिनुभयो ।
नेताको प्रेसरमा होइन जहाँबाट बढी जनसङ्ख्याले लाभ लिन्छ बाटो त्यहीँबाट लैजान उहाँले स्पष्ट निर्देशन दिनुभयो । ‘त्यो नेता हिँड्ने बाटो हो ? गाडी हिँड्ने बाटो होइन ?’, ओलीले प्रश्न गर्नुभयो । ओलीले प्राविधिक हिसाबले जताबाट जे गर्नुपर्छ त्यही काम ढुक्क भएर गर्न आग्रह गर्नुभयो । त्यस्तो प्रेसर आए त्यसको सामना आफूले गर्ने ओलीले विश्वास दिलाउनुभयो ।
बाटो छोटिने र दुर्घटनाको सम्भावना कम हुने तथा बढी भन्दा बढी जनताले लाभ लिने गरी बाटोको एलाइनमेन्ट अघि बढाउन उहाँले आग्रह गर्नुभयो । ‘पुष्पलाल हाइवेको एलाइन्मेट चेञ्ज गर्नै पर्छ’, ओलीले भन्नुभयो ।