ट्रेण्डिङ

होमपेज / समाज

सृष्टि अधिकारीलाई इगरब्रिजमा भव्य सम्मान, वीरेन्द्रनगर बजार परिक्रमा

इगरब्रिज विद्यालयकी छात्रा सृष्टि अधिकारी विज्ञान संकायमा नेपाल द्वितीय भएपछि विद्यालयमा उत्सव

नेपालगाथा डेस्क २०८१ श्रावण २० गते आइतबार २०:४१:१६ मा प्रकाशित

सुर्खेत । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेसँगै विज्ञान संकायमा ३.९५ जिपिए ल्याएर नेपाल द्वितीय भएकी इगरब्रिज माध्यमिक विद्यालयकी छात्रा सृष्टि अधिकारीलाई विद्यालयले एक कार्यक्रमको आयोजना गरेर भव्य सम्मान गरेको छ । सृष्टि र उनका साथीहरुलाई विद्यालयमा विभिन्न सांस्कतिक कार्यक्रमसहित बजार परिक्रमा समेत गरिएकाे थियाे ।

वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा सहभागी सृष्टिले आफ्नो सफलतालाई निरन्तरताको एउटा खुड्किलोमात्र भएको बताइन् । उनले जीवनमा यस्ता थुप्रै सफलताहरु प्राप्त गर्नुपर्ने बताउँदै यो सफलता केवल निरन्तरता मात्र भएको बताइन् । 


विद्यालयका प्रशासन प्रमुख कृष्णा न्यौपाने भुसालले विद्यार्थीको सफलताका लागि विद्यालयले भौतिक, शैक्षिकका साथै नैतिक शिक्षाको समेत व्यवस्था गरेकाले विद्यार्थीले निरन्तर सफलता प्राप्त गरिरहेको बताइन् । विद्यालयका प्रधानाध्यापक दिपेन भुसालले विद्यालय प्रशासन र शिक्षक शिक्षिकाको ध्यान केवल विद्यार्थीको उत्कृष्ट परिणाम निकाल्नमा मात्रै हुने भएकाले विद्यालयले विद्यार्थीको भविष्यका सन्दर्भमा कसैसँग सम्झौता नगरेको बताए । 


विद्यालयका प्रधानाध्यापक दिपेन भुसाल र प्रशासन प्रमुख कृष्णा न्यौपाने भुसाल दुवैजना अमेरिकाको ग्रिन कार्ड त्यागेर आफ्नै देशमा फर्किएर शैक्षिक क्षेत्रमा सक्रिय छन् ।  

विद्यार्थीको दिमाग मकैको फुला जस्तै फुलिरहोस् – हेमप्रकाश भुसाल संस्थापक


इगरब्रिज माध्यमिक विद्यालयका संस्थापक हेमप्रकाश भुसालले विद्यार्थीको दिमाग मकैको फुला जस्तै सधै फुलिरहास् भनि शुभकामना दिनुभएको छ । विज्ञान संकायमा नेपाल द्वितीय भएकी विद्यालयकी छात्रा सृष्टि अधिकारीलगायतका विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै संस्थापक भुसालले । विद्यार्थीहरूको दिमाग पाँच वर्षदेखि मकैको फुला फुलेजस्तै ४० वर्षसम्म फुलिरहन्छ त्यसैले यो क्रम निरन्तर फुलिरहन्छ भनि शुभकामना दिनुभयो । साथै उहाँले इगरब्रिजको यो नतिजा ल्याउन भूमिका खेल्नुहुने सम्पूर्ण शिक्षक साथीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।

इगरब्रिज अब जिल्ला, प्रदेशमात्र होइन राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने विद्यालय हो – दिपेन भुसाल, प्रिन्सिपल


हाम्रो लागि यो साँच्चिकै खुसीको पर्व हो । आज हामीले एउटा ऐतिहासिक नतिजा हासिल गरेका छौं । विगतका वर्षहरूमा जिल्ला, प्रदेशहरूमा हामी अग्रणी स्थानमा थियौं । तर यसपटक कर्णाली प्रदेशजस्तो ठाउँबाट राष्ट्रियस्तरमा पनि हामी प्रतिस्पर्धी भएका छौँ । राष्ट्रियस्तरमा दोस्रो स्थान हासिल गर्न पाउनु हाम्रो लागि गर्वको कुरा हो । यसका लागि सम्पूर्ण शिक्षक मित्र मेहेनती विद्यार्थी भाइबहिनीहरू र अभिभावकको सहयोगले गर्दा नै यो खुसीको पल हासिल गरेका हौं । 

हामीले विद्यार्थीहरूलाई एकोहोरो पढाइलाई मात्र फोकस गरेका छैनौं । हाम्रो मुख्य उद्देश्य भनेको संस्कारसहितको शिक्षा हो । यसका लागि विद्यालयले जुन किसिमले पूर्वाधारको विकास गर्नुपर्ने हो त्यो तयार छ । विद्यार्थीका लागि चाहिने उत्कृष्ट किसिमको साइन्स ल्याबहरू, विभिन्न पुस्तकहरु सहितको पुस्तकालय, कम्प्युटर ल्याब सबैको व्यवस्थापन गरेका छौं । यो सबैबाट विद्यार्थीले व्यवहारिक ज्ञान हासिल गरेका छन् । र विद्यार्थीहरूलाई पढाइसँगै जीवन जिउन सिकाउने गुरुहरू पनि हामीसँग हुनुहुन्छ । यी सबैको कारणले गर्दा हामीले यो सफल प्राप्त गर्न सफल भएका हौं ।

अमेरिकाको ग्रिन कार्डलाई छोडेर आएको सपना पूरा भएको छ – कृष्णा न्यौपाने भुसाल, प्रशासन प्रमुख


इगरब्रिज माध्यमिक विद्यालयले विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा उच्च योगदान दिँदै आएको छ । यस विद्यालयले जिल्ला, प्रदेश हुँदै देशकै अब्बल विद्यालयको रुपमा पु¥याउनका लागि विज्ञान संकायतर्फ नेपाल द्वितीय बन्न सफल सृष्टि अधिकारीलगायत उत्कृष्ट नतिजा ल्याउन सफलसम्पूर्ण विद्यार्थीहरूलाई सफलताको शुभकामना व्यक्त गर्दछु । 
कर्णाली प्रदेशलाई शैक्षिक क्षेत्रबाट होस् या आध्यात्मिक क्षेत्रबाट होस् अथवा समाजसेवाको रूपमा होस् हामीलाई निरन्तर रूपमा अगाडि बढाउन हौसला दिनुहुने पूजनीय बुवा हेमप्रकाश भुसाल र माता राधा भुसालको निरन्तरको सहयोगको उच्च कदर र सम्मान गर्न चाहन्छु । 

परिवारको आशीर्वाद सँगसँगै हरेक काममा मलाई पूरा जिम्मेवारीका साथ प्राप्त सहयोगलाई मैले  सहजै पूरा गर्दै जाँदा इगरब्रिज माध्यमिक विद्यालयलाई यो क्षेत्रको अब्बल विद्यालयका रुपमा स्थापित गराउन सफल भएका छौं । अमेरिकाको ग्रिन कार्डलाई छोडेर आफ्नै देशमा केही गर्नुपर्छ भन्ने भावनाका साथ हामी नेपाल फर्केका थियौं । अहिले इगरब्रिज विद्यालयलाई राष्ट्रिय स्तरमा सफल विद्यालयको रुपमा चिनाउन पाउँदा अमेरिकाको त्योे विकसित ठाउँलाई छोडेर नेपाल आएको सपना साकार भएको महसुस भएको छ । 

यो सम्मान त मेरो बुवाले पाउनुपर्ने हो – बिमला अधिकारी (सृष्टिको ममी)


विज्ञान संकायको परीक्षामा नेपाल देशकै दोस्रो हुँदा कस्तो लागेको छ भन्ने जिज्ञासामा सृष्टि अधिकारीकी ममि विमला अधिकारीले भन्नुभयो, ‘निकै खुसी छु । यो खुशीको श्रेय मैले मेरो बुवालाई दिन्छु किनभने म पनि एउटा शिक्षण पेशामा संलग्न भएकाले मेरो बुवा (मनबहादुर थापा) लाई मैले सृष्टि पाँच वर्षको उमेर हुँदा नै जिम्मामा छाडेको थिएँ । उहाँको असल संस्कार र उपयुक्त रेखदेख नभएको भए आजको दिन असम्भव थियो । यो सम्मान त मेरो बुवाले पाउनुपर्ने हो । बुवाको यसमा ठूलो हात छ ।'

म शिक्षक पेशामा जान्थेँ । केटाकेटीहरुलाई मैले रेखदेख गर्न पाइनँ । सम्पूर्ण रेखदेख बुवाले नै गर्नुभयो । विदाको समयमा मात्रै घरमा आउँथे आज बुवाकै कारणले उहाँकै सुझाव र सल्लाहले आज मेरी छोरी नेपालकै दोस्रो स्थानमा आउन सफल भइन् । यसमा म अति नै खुसी छु । 

यसका साथै यस इगरब्रिज विद्यालयले विद्यार्थीलाई अनुशासनमा राखेर पढाउने गरेको छ जसका कारणले छोरी आज नेपाल दोस्रो स्थानमा आउन सफल भइन् । धेरै धेरै खुसी छु । अनुशासन र लगनशील भएर पढ्यो भने अवश्य सफल भइन्छ । शिक्षकको मात्र भरपर्ने होइन । उहाँहरुले त बाटो सिकाउनुहुन्छ । आफूले निरन्तर अभ्यास गर्नुपर्छ । मेरो छोरी घरमा निक्कै पढ्दे गर्थिन् र निरन्तर अभ्यास पनि गर्ने गर्थिन् । आज त्यही कारणले सफल हुन पुगिन् । सबै भाइबहिनीले मेहनत गरेर पढ्नु होला । एकदिन अवश्य सफल भइन्छ ।

परीक्षाको नजिक पढ्छु भनेर नसोच्नुस्, सधैंभरी प्रयास गरिरहनुस् अवश्य सफल भइन्छ – सृष्टि अधिकारी (नेपाल द्वितीय, विज्ञान संकाय)

सबैभन्दा पहिले त म आफ्नो हजुरबुवालाई यो सफलता बाँड्न चाहन्छु । हजुरबुवाले नै हामीलाई सानैदेखि उत्कृष्ट वातावरणमा हुर्काउनुभएको हो । त्यसपछि मेरा आमाबुवालाई सम्झिन चाहन्छु । उहाँहरूको साथ र सहयोगले मैले यो स्थान हासिल गर्न सफल भएको हुँ । मेरो सफलताको कारण यतिमा मात्र सीमित छैन विद्यालयका सरहरुले धेरै कुराहरु सिकाउनु भएको छ । पढ्ने तरिकादेखि लेखनकलासम्म गुरुवर्गको निरन्तर सल्लाह हुने गर्दथ्यो । सरहरूको सहयोगले गर्दा नै आज यो स्थान र यो नतिजा मैले ल्याउन सफल भएको हुँ । 

म यो नतिजा आउनुलाई केवल सफलता मान्दिन । यो त जीवनको एउटा चरण हो । यो एउटा मेहनतको फल हो । मेहनत गर्नुस् । आफ्नो लक्ष्यलाई कहिल्यै नबिर्सनुस् । सधैंभरी प्रयास गरिरहनुपर्छ परीक्षाको नजिक पढ्छु भनेर नसोच्नुस् । सधैंभरी प्रयास गरिरहनुस् अवश्य सफल भइन्छ । 

अध्ययनका लागि सुर्खेतभन्दा बाहिर जाने विद्यार्थीलाई के भन्नुहुन्छ भन्ने जिज्ञासामा सृष्टिले भनिन्, ‘ठाउँले मान्छेलाई बनाउँदैन । मान्छेले ठाउँलाई बनाउने हो । यदि हाम्रो आफ्नो काममा ध्यान छ भने आफ्नो कामलाई माया गर्नुहोस् अवश्य सफल भइन्छ । पढ्नलाई काठमाडौँ नै जानुपर्छ वा सहर नै जानुपर्छ भन्ने छैन । हामीले ज्ञान किताबबाट पाउने हो, शिक्षकले दिने हो, आफू लगनशील भएर मन लगाएर पढ्नुभयो भने तपाइँ जहाँ बसेर पर्दा पनि सफल हुनुहुन्छ ।'.

कर्णाली प्रदेशलाई विकसित बनाउन के गर्नुपर्छ भन्ने जिज्ञासमा सृष्टिको जवाफ यस्तो थियो । हाम्रो कर्णाली प्रदेशका दुर्गम पहाडतिर स्वास्थ्यको समस्या पनि छ । बच्चाहरूलाई पढ्नैपर्छ भन्ने ज्ञान पनि छैन । पहाडतिरका बच्चाहरूले पढाइतिर त्यति ध्यान नदिएको देखिन्छ । कि दुर्गम ठाउँका बच्चाहरूलाई पढाइको बारेमा र पढाइको महत्वको बारेमा जानकारी दिनुपर्छ । विभिन्न स्थानमा इन्टरनेटको समस्या पनि छ । सञ्चारको समस्या पनि छ ।

त्यही सञ्चारको समस्याको कारणले विभिन्न जानकारीहरू लिन पाएका छैनन् त्यो कुरामा ध्यान दिनुपर्छ । अर्को महत्व कुरा बालबालिकामा कुपोषणको समस्या छ जसका कारण उनीहरुको दिमाग जुन हिसाबले वृद्धि हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन । मेरो विचारमा बालबच्चा देखि नै सबै कुरामा विचार पु¥याउने हो भने त्यो बच्चाले ठूलो भएपछि राम्रो नतिजा दिन सक्छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top