ट्रेण्डिङ

होमपेज / समाज

 अपाङ्गता भएका महिला तथा बालिकाहरूका लागि सशक्तीकरण परियोजना सुरु हँदै

नेपालगाथा २०८१ श्रावण १७ गते बिहीबार १४:३५:४९ मा प्रकाशित

सुर्खेत । साईनिङ अस्पताल, आइएनएफ नेपाल, सुर्खेतले अपाङ्गता भएका महिला तथा बालिकाहरूको सशक्तीकरणका लागि नयाँ परियोजना सुरु गर्न लागेको छ । परियोजना सुर्खेतका भेरीगङ्गा नगरपालिका र बराहताल गाउँपालिकामा शुरु गर्न लागिएको कार्यक्रम संयोजक ललित सारुले जानकारी दिनुभयो । 

परियोजनाका गतिविधिहरुका बारेमा स्थानीय पालिकाका प्रमुख र अन्य व्यक्तिहरुलाई जानकारी दिनका लागि आयोजना गरिएको कार्यक्रममा संयोजक सारुले जानकारी दिनुभएको हो । 

परियोजनाले अपाङ्गता भएका महिला तथा बालिकाहरूका लागि पुर्नस्थापना स्वास्थ्य सेवा र उनीहरुका परिवारलाई जीविकोपार्जन कार्यक्रमका साथै अपाङ्गता भएका व्यक्तिहरुका लागि कार्य गर्ने संस्थाको सबलीकरण गर्ने अनुगमन अधिकृत लोकप्रसाद गौतमले बताउनु भयो । गौतमले उक्त परियोजनामा प्रति पालिका ४० लाख ७१ हजार  तीन सय ७९ बजेट बिनियोजन गरिएको जानकारी दिनुभयो ।  परियोजनाले उक्त कार्यक्रममा पालिकाबाट समेत बजेटमा सहकार्यको अपेक्षा गरेको छ । 

अन्तरक्रिया कार्यक्रममा भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले परियोजनाको टिमलाइ नर्याँ कार्यक्रमका लागि बधाई दिँदै परियोजनामा आफ्नो तथा नगरपालिकाको अभिभावकीय भूमिका रहने प्रतिवद्धता जनाउनुभयो । 

अन्तरक्रियात्मक बैठकमा कार्यक्रम संयोजक ललित सारुले सहभागीहरुले कार्यक्रमको बजेट तथा कार्यक्रम संचालन प्रक्रियाका  बारेमा राखेको जिज्ञाशाका बारेमा जानकारी दिनुका साथै परियोजनामा पालिकाको अभिभावकीय भूमिकाप्रति आभार ब्यक्त गर्नुभएको थियो । 

साथै रोजगार संयोजक प्रकाश पौडेल, महिला तथा बालबालिका शाखा प्रमुख सबिता राणा तथा वडा अध्यक्षहरुले परियोजनामा आर्थिक तथा सहभागितात्मक सहकार्य रहने विचार ब्यक्त गर्नुभयो । 
कार्यक्रममा पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत, राजनैतिक पार्टीका प्रतिनिधिहरु, सम्बन्धित पालिकाका बिषयगत शाखाका प्रमुखहरु, अपाङ्गताका क्षेत्रमा कार्यगर्ने संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top