होमपेज / समाज
काठमाडौँ । वरिष्ठ लोक गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ ।
झापाको बिर्तामोड निवासी ८८ वर्षीय गायक जोशीको बिहीबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
विसं १९९३ मा धनकुटा बजारमा जन्मिएका गायक जोशीलाई जनस्तरबाट ‘लोकगीतका सम्राट’को उपाधि दिइएको थियो । उनले ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’, ‘वल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो हजुर’, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङट्याङ’लगायत दर्जनौँ कालजयी गीत गाएका थिए । पूर्वेली लोकभाका उनी गीत गाउँथे ।
विसं २०१३ मा उनको पहिलो गीत ‘नेपालको माया..’ रेडियो नेपालमा रेकर्ड भएको थियो । नेपाली मौलिक गीतहरुको खोजमा मुलुकका सयौँ गाउँबेँसीहरु घुमेका र नेपाली लोकसङ्गीतको भण्डारलाई समृद्ध बनाउन योगदान पुर्याएका उनलाई देशभित्र र प्रवासमा सयौँ पुरस्कार प्राप्त भएको थियो । विसं २०५३ मा म्युजिक नेपालबाट उनको ‘रिटिङ रिटिङ’ नामक एकल गीति एल्बम बजारमा आएको थियो ।