होमपेज / समाज
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेश सरकारमा आज दाबी पेश गर्ने भएका छन् ।
सोमबार मन्त्रालय भागबण्डा नमिल्दा मुख्यमन्त्रीमा लामाको दाबी पेश गर्ने कार्यक्रम रोकिएको थियो । काँग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएसँगै लामाले बिहान ११ बजे मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् ।
निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोही दिन मंगलबारसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।
सोही आह्वान अनुसार लामाले एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने र प्रदेश प्रमुख शर्माले आजै लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ ।
१३ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा काँग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय लिने गरी सहमति भएको नेता लामाले बताए ।