होमपेज / समाज
काठमाडौँ । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ ।
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।
गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ । ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता छ । मनुस्मृतिअनुसार जन्म दिने, संस्कार दिने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ ।
वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठुलो गुन लगाएको मानिन्छ । संस्कृत शव्दगुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा 'गिरति अज्ञानं इतिःगुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो ।
गुरुका प्रकार शास्त्रमा गुरुका अनेक भेद बताइएका छन् । ज्ञानप्राप्तिका लागि अहोरात्र तपस्यामा लीन हुने ऋषि–महर्षिहरूलाई गुरु मानिएको छ । ब्रह्मा, विष्णु, महेश्वर यी त्रिदेवलाई गुरुकै कोटिमा राखिएको छ । गीताज्ञान दिने भगवान् श्रीकृष्णलाई वैष्णवहरूले जगतकै गुरु मान्छन् ।
कतिले पौराणिक ग्रन्थका रचयिता वेदव्यासलाई गुरु मान्छन्। बृहस्पति र शुक्र क्रमशः देव र दैत्यका गुरु मानिएका छन्। तन्त्रमा पनि गुरुका विविध भेद बताइएको छ। लौकिक समाजमा आफूलाई कुनै पनि विषयमा ज्ञान दिनेलाई गुरु सम्बोधन गर्ने चलन छ।
श्रीमद्भागवत महापुराणको एकादश स्कन्धको सातौँ, आठौँ र नवौँ अध्यायमा २४ गुरुहरूको प्रसङ्ग आउँछ। दत्तात्रेयले पृथ्वी, वायु, आकाश, जल, अग्नि, हात्ती, माहुरी, हरिण, माछा, सर्प, माकुरा र कमलकोटी गरी २४ सजीव-निर्जीव वस्तुलाई गुरु मानेका छन्।