होमपेज / समाज
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन् । आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएका हुन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले धारा ७६ को उपधारा (४) बमोजिम नियुक्त गरिएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ ।
नेपाली कांग्रेस र नेकपा (एमाले) बीच गत असार १७ गतेको सहमतिका आधारमा एमालेका अध्यक्ष ओलीले नेपालको संविधानको धारा ७६ (२) बमोजिम गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
दुई ठूला दलबीचको सहमतिपछि अल्पमतमा पर्नुभएको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत असार २८ गतेको संसद् बैठकमा विश्वासमा मत प्राप्त गर्न सकेका थिएनन् । नयाँँ प्रधानमन्त्री ओलीको विपक्षमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) रहने स्पष्ट देखिएको छ, भने कांग्रेस, एमालेसहित अधिकांश दलले विश्वासको मत दिने देखिएको छ ।