होमपेज / समाज
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोड्ने भएका छन् ।
प्रधानमन्त्री सचिवालयका अनुसार संसदमा विश्वासको मत लिने प्रक्रिया पूरा भएपछि उनी सिधै निजी निवास खुमलटार जाने भएका हुन् । सरकार अल्पमतमा परेदेखि नै खुमलटारस्थित निवासको सरसफाइ गरिएको थियो ।
सरकार अल्पमतमा रहेकाले प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना रहेको छैन । प्रचण्डले आफ्नो कार्यकालमा भएका काम र आगामी कार्ययोजनाबारे जानकारी गराउन पार्टी कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ ।
संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भएअनुसार एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।