होमपेज / समाज
सुर्खेत । कर्णालीका पाँच राजमार्गका सड्क अवरुद्ध भएको छ । शुक्रबारदेखि परेको वर्षाका कारण राजमार्ग अवरुद्ध भएको हाे ।
कर्णाली, मध्य पहाडी, मदन भण्डारी, राप्ती राजमार्ग र भेरी कोरिडोरका सड्क खण्ड अवरुद्ध भएका छन् ।
अविरल वर्षाका कारण कर्णाली राजमार्गमा चार, मध्य पहाडीमा चार र राप्ती राजमार्गमा दुई, मदनभण्डारीमा एक र भेरी कोरिडोरका तीन ठाउँमा बाढीपहिरोका कारण सड्क अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा पहिरो गएको छ ।
त्यस्तै राप्ती राजमार्गको चोरखोला, सिमखोलीमा पहिरो खसेको छ । भेरी कोरिडोर अन्तर्गत छिन्चु जाजरकोट सड्क अन्तर्गत गुर्भाकोट नगरपालिका ३ मा पहिरोले सड्क अवरुद्ध भएको छ ।
कर्णाली राजमार्ग २ दिनदेखि सड्क अवरुद्ध हुँदा झन्डै २०० बढी सवारी साधन दैलेखको आठबीस नगरपालिका राकममा रोकिएको प्रहरीले जनाएको छ ।
त्यस्तै रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-६, रिजिगाड र त्रिपुरा सुन्दरी नगरपालिका-१ डोल्पाको छलगाडमा पानिको वहाव बढ्दा सड्क अवरुद्ध भएको प्रदेश प्रहरीले जानकारी दिएकाे छ ।
वर्षा आइतबार बिहानसम्म पनि जारी रहेका कारण राजमार्गहरू सुचारु गर्न समस्या भएको प्रहरीले जनाएको छ ।