ट्रेण्डिङ

होमपेज / समाज

अपाङ्गता भएका ब्यक्तिलाई भेटेर नै उनीहरुको अवस्था बुझ्नुपर्छ – सभापति घले

नेपालगाथा २०८१ असार १७ गते सोमबार २२:०३:२२ मा प्रकाशित

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका सामाजिक विकास समितिका सभापति टीका घलेले अपाङ्गता भएका ब्यक्तिका बारेमा भेटेर नै उनीहरुको अवस्था बुझ्नुपर्ने बताउनुभएको छ । वीरेन्द्रनगर नगरपालिकामा आइएनएफ सुर्खेतद्वारा सञ्चालित साइनिङ्ग अस्पताल पहुँच तथा समावेशीकरण परियोजनाको सामाजिक परीक्षण कार्यक्रममा सम्वोधन गर्दै सामाजिक विकास समितिका सभापति घलेले अपाङ्गता भएका ब्यक्तिका बारेमा बुझ्नका लागि उनको परिवारसँग पनि थप बुझ्नका लागि भेटेर नै सबै अवस्थाका बारेमा बुझ्नुपर्ने  बताउनुभएको हो । 

सभापति घलेले साइनिङ्ग अस्पताल पहुँच तथा समावेशीकरण परियोजनाका हरेक कार्यक्रममा सहभागी भएको बताउँदै सानो सानो रकम भन्दा एकमुष्ठ धेरै रकम बनाएर कार्यक्रम गरेमा त्यसको प्रभावकारिता बढ्न सक्ने बताउनुभयो । 

वडा नं. ८ का वडा अध्यक्ष टीकाराम शर्माले सरकार आफैंमा पूर्णता नभएकाले विभिन्न दाताको सहयोग अपरिहार्य भएको बताउनुभयो । साथै उहाँले अपाङ्गता भएका ब्यक्तिको प्रकृति हेरेर सोही अनुसार फरक फरक कार्यक्रम लिएर जान सकेमा त्यसको प्रभावकारिता बढ्ने बताउनुभयो । अपाङ्गता भएका ब्यक्तिका लागि उपलब्धी विहिन कार्यक्रम नगरौ भन्दै अध्यक्ष शर्माले अपाङ्गता नभएको व्यक्ति जतिवेला पनि अपाङ्गता हुन सक्ने भएकाले सबैले यसबारेमा ध्यान दिएर व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । 

यसैगरी वडा नं. ९ का वडा अध्यक्ष ऋषि गिरीले नीति नियम बनाउने, सेवा प्रवाह गर्ने र सेवा लिने व्यक्तिहरुलाई सामाजिक परिक्षण गर्दा यसको प्रभावकारिता बढ्ने बताउनुभयो । नगरपालिका र परियोजनाबीच साझेदारी गरेर कार्यक्रम सञ्चालन गरेमा परियोजना सकिए पछि पनि परियोजनाको दिगोपनाका लागि सहज हुने अध्यक्ष गिरीको भनाइ रहेको थियो ।

महिला तथा बालबालिका शाखाका प्रमुख सरला रेग्मीले आइएनएफ सुर्खेतद्वारा सञ्चालित साइनिङ्ग अस्पताल पहुँच तथा समावेशीकरण परियोजनाले पुण्यको काम गरिरहेको बताउनुभयो । 

पहुँच तथा समावेशीकरण परियोजनाका संयोजक ललित सारुले अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकता र वीरेन्द्रनगर नगरपालिकाको समन्वय र सहकार्यका परियोजनाका कार्यक्रमहरु सफल र प्रभावकारी भइरहेको जानकारी दिनुभयो । 

सामाजिक परीक्षणलाई सहजीकरण गर्दै पत्रकार त्रिभुवन बिसीले सामाजिक उत्तरदायित्व, जवाफदेहिता र सुशासनका पक्षबाट परियोजनाले वीरेन्द्रनगर नगरपालिकाले उत्कृष्ट काम गरिरहेको बताउनुभयो । परियोजनाबाट वीरेन्द्रनगर नगरपालिकाका ६ सय ३४ जना पुरुष र ६ सय ४० जना महिला गरी कुल १ हजार २ सय ७४ जना व्यक्ति लाभान्वित भएको सामाजिक परिक्षक बिसीले जानकारी दिनुभयो ।  यसैगरी परियोजनाले वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडाका लागि आउँदो वर्षका लागि २३ लाख ६८ हजार ६ सय २७ रुपैयाँ प्रस्तावित गरेको समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो । 

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, उप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका अध्यक्ष, विभिन्न शाखाका प्रमुख, अपाङ्गता सञ्जालका व्यक्तिहरु र विभिन्न सरोकारवाला व्यक्तिहरु गरी करि ६० जनाको सहभागिता भएको कार्यक्रको सञ्चालन परियोजनाका अनुगमन अधिकृत लोक गौतमले गर्नुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top