होमपेज / समाज
सुर्खेत । पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालवीर भण्डारीले सानो रकमले पनि ठुलो काम गर्न सकिने बताउनुभएको छ । बुधबार पञ्चपुरी नगरपालिकामा आइएनएफ सुर्खेतद्वारा सञ्चालित साइनिङ्ग अस्पताल पहुँच तथा समावेशीकरण परियोजनाको सामाजिक परीक्षण कार्यक्रममा सम्वोधन गर्दै नगर प्रमुख भण्डारीले इच्छा शक्ति भयाे भने सानो पूँजीले पनि समाजमा ठुलो परिवर्तन गर्न सकिने परियाेजनाले सिकाएकाे बताउनुभएको हो ।
नगर प्रमुख भण्डारीले नगरपालिकाको तर्फबाट अपाङ्गता भएका ब्यक्ति र उनको परिवारका लागि सधै सकारात्मक भएर लागि रहेको बताउँदै नगरपालिकाकाे रकम र परियाेजनाकाे रकम मिलाएर अपाङ्गता भएका ब्यक्ति र उनको परिवारका लागि राहत पुगेकाे बताउनुभयाे ।

उक्त कार्यक्रममा पञ्चपुरी नगरपालिकाका उप्रमुख मुक्तिदेवी रेग्मी (पुरी) ले पहँच तथा समावेशीकरण परियाेजना नगरपालिकासँग एउटै घर परिवार जस्तो व्यवहार भएर काम गरेकाले पनि नतिजामा थप सुधार आएको बताउनुभयो । उहाँले अपाङ्गता समितिको सभापतिको नाताले पनि प्रत्यक्ष अनुगमन र रेखदेख गरिरहेको बताउँदै पञ्चपुरी नगरपालिकाले अपाङ्गता भएका ब्यक्ति र उनको परिवारका लागि हातेमालो गरेर बजेट छुट्याएको बताउनुभयो ।
पञ्चपुरी नगरपालिकाका श्री समूह प्राथमिक विद्यालय पञ्चपुरीका प्रअ प्रेम विष्टले आफ्नाे विद्यालयमा विगत लामाे समयदेखि अपाङ्गता भएका ब्यक्तिका लागि विशेष कक्षा सञ्चालन गरिरहेकाे जानकारी दिनुभयाे । प्रअ विष्टले भने, 'बौद्धिक अपाङ्गता भएका १३ जना विद्यार्थीहरु नियमित अध्यनरत छन् तर सरकारले १० जना विद्यार्थीका लागि मात्र सेवा सुविधा दिने भएकाले थप ३ जना विद्यार्थीका लागि व्यवस्थापन गर्न कठिन भइरहेको छ । यस विषयमा नगरपालिका र अन्य सराेकारवाला पक्षले ध्यान दिनका लागि आग्रह गर्दछु ।

पहुँच तथा समावेशीकरण परियोजनाका संयोजक ललित सारुले अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकता, अपाङ्गता सञ्जाल केन्द्रकाे सक्रियता र नगरपालिकाकाे समन्वय र सहकार्यका कारण परियाेजनाका कार्यक्रमहरु सफल र प्रभावकारी भइरहेकाे जानकारी दिनुभयाे । लाई मध्यनजर गरेर पालिका र वडाले बजेटको व्यवस्थापन गरेमा आइएनएफले प्राविधिक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
सामाजिक परीक्षणलाई सहजीकरण गर्दै पत्रकार त्रिभुवन बिसीले सामाजिक उत्तरदायित्व, जवाफदेहिता र सुशासनका पक्षबाट परियोजनाले पञ्चपुरी नगरपालिकाले उत्कृष्ट काम गरिरहेकाे बताउनुभयो । परियोजनाबाट पञ्चपुरी नगरपालिकाका ७ सय ८५ जना पुरुष र ६ सय ७२ जना महिला गरी कुल १ हजार ४ सय ५७ जना व्यक्ति लाभान्वित भएको सामाजिक परिक्षक बिसीले जानकारी दिनुभयाे । यसैगरी आउँदो वर्षका लागि २३ लाख ६८ हजार ६ सय २७ रुपैयाँको प्रस्तावित बजेट परियाेजनाले छुट्याएकाे समेत प्रस्तुत गरिएको थियो ।
पञ्चपुरी नगरपालिकाका प्रमुख, उप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका अध्यक्ष, विभिन्न शाखाका प्रमुख, अपाङ्गता सञ्जालका व्यक्तिहरु र विभिन्न सरोकारवाला व्यक्तिहरु गरी करि ६० जनाको सहभागिता भएको कार्यक्रको सञ्चालन परियोजनाका अनुगमन अधिकृत लोक गौतमले गर्नुभएको थियो ।
