होमपेज / समाज
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ । बिहिबार सार्वजनिक भएको नतिजामा २ लाख ४२ हजार विद्यार्थीको एनजी (नन ग्रेडेड) आएको छ ।
२ विषयमा एनजी आएका विद्यार्थीहरूले साउन १८ गते र १९ गते हुने परीक्षामार्फत ग्रेड वृद्धि परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बताए ।
४८ हजार ३८ विद्यार्थीको १ विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी २ विषयमा एनजी आएको छ ।
नतिजा अनुसार, सबैभन्दा धेरै ७८ हजार ८७४ परीक्षार्थी जीपीए २.८० देखि ३.२० ल्याएर उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी चार लाख ६४ हजार ७८५ मध्ये जीपीए ३.६० देखि ४ सम्म ल्याउने परीक्षार्थीको संख्या ३१ हजार २०९ छ ।
३.२० देखि ३.६० सम्म जीपीएसहित ६८ हजार २५६ र जीपीए २.८० देखि ३.२० ल्याएर ७८ हजार ८७४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
जीपीए २.४० देखि २.८० सम्म ल्याउने परीक्षार्थी ४१ हजार १७७ छन् । दुई हजार ९५० परीक्षार्थीले जीपीए २.० देखि २.४० ल्याएका छन् । ६ परीक्षार्थीले जीपीए १.६ देखि २ सम्म ल्याएका छन् ।
दुई लाख ४२ हजार ३१३ परीक्षार्थी ‘नन ग्रेडेड’मा परेका अध्यक्ष शर्माले जानकारी दिए ।
एक वा दुई विषयमा नन ग्रेड ल्याएका एक लाख १५ हजार ८३४ जनाले आउँदो साउन १८ र १९ गते मौका परीक्षा दिन पाउनेछन् ।