होमपेज / समाज
सुर्खेत । सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्दले पालिकाको सभाबाट नै अपाङ्गताका सवाललाई सम्वोधन गर्न नीतिगत व्यवस्था गर्ने बताउनुभएको छ । मंगलबार सिम्ता गाउँपालिकामा आइएनएफ सुर्खेतद्वारा सञ्चालित साइनिङ्ग अस्पताल पहुँच तथा समावेशीकरण परियोजनाको सामाजिक परीक्षण कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष चन्दले यस्तो बताउनुभएको हो ।
संघीय सरकार र प्रदेश सरकारले विकास निर्माणको कामलाई मात्र प्राथमिकता दिने हो भने पालिका सरकारले विभिन्न व्यक्ति र संघसंस्थाको क्षमता विकासलाई प्राथमिकता दिन पाउने बताउँदै अध्यक्ष चन्दले संघसंस्थाले मात्र नभई पालिका र वडा सरकारका साना साना योजनालाई पनि अनिबार्य रुपमा सामाजिक परिक्षण गर्ने व्यवस्थालाई लागू गरिने बताउनुभयो ।

पालिकाका उपाध्यक्ष गोमा शर्मा रेग्मीले आइएनएफले अपाङ्गताका क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको बताउनुभयो । उहाँले पालिकाको बजेटले मात्रै समाजका सबै वर्ग र क्षेत्रको काम गर्न सम्भव नभएको भन्दै पहुँच तथा समावेशीकरण परियोजनाले अपाङ्गताका क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताउनुभयो ।
सिम्ता गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष घनबहादुर केसीले सामाजिक परिक्षण कार्यक्रमले परियोजनाको सबै कार्यक्रम र बजेटको पारदर्शीता गरेको बताउँदै वडाले पनि अपाङ्गता क्षेत्रका लागि ५० हजार बजेट छुट्याएको जानकारी दिनुभयो ।

पहुँच तथा समावेशीकरण परियोजना संयोजक ललित सारुले अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकतालाई मध्यनजर गरेर पालिका र वडाले बजेटको व्यवस्थापन गरेमा आइएनएफले प्राविधिक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तिहरुका सन्दर्भमा पालिका सरकार, विभिन्न संघसंस्थाहरु सबै सँगै मिलेर अघि बढ्नुपर्ने बताउँदै संयोजक सारुले कार्यक्रमको प्रकृति र सेवाग्राहीको आवश्यकता अनुसार साइनिङ्ग अस्पातालले प्रदान गरिरहेको सेवा सुविधामा जोडिनका लागि सबैलाई आग्रह गर्नुभयो ।
सामाजिक परीक्षणलाई सहजीकरण गर्दै पत्रकार त्रिभुवन बिसीले सामाजिक उत्तरदायित्व, जवाफदेहिता र सुशासनका पक्षबाट परियोजनाले उत्कृष्ट कामहरु गरेको बताउनुभयो । परियोजनाबाट सिम्ता गाउँपालिका ९ सय ५५ जना पुरुष र ९ सय १६ जना महिला गरी कुल १ हजार ८ सय १७ जना व्यक्ति लाभान्वित भएको सामाजिक परिक्षक बिसीले बताउनुभयो ।

कार्यक्रममा आउँदो वर्षका लागि २३ लाख ६८ हजार ६ सय २७ रुपैयाँको प्रस्तावित बजेट समेत प्रस्तुत गरिएको थियो ।
सिम्ता गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुख, अपाङ्गता उत्थान केन्द्रका व्यक्तिहरु र विभिन्न सरोकारवाला व्यक्तिहरु गरी करि ५० जनाको सहभागिता भएको कार्यक्रको सञ्चालन परियोजनाका अनुगमन अधिकृत लोकराज गौतमले गर्नुभएको थियो ।