होमपेज / समाज
काठमाडौँ । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक काठमाडौँमा सुरु भएको छ । बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छिन् भने चिनियाँँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङले गर्नेछन् ।
परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार बैठकमा नेपालले छलफलका लागि चीनको सहयोग, व्यापार, लगानी र पर्यटन प्रबद्र्धन, कनेक्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायत एजेन्डा तय गरेको छ ।
यस्तै, व्यापार तथा भुक्तानीमा विज्ञ समूहको बैठक बस्नेबारे पुन एकपटक छलफल हुने भएको छ । व्यापार तथा भुक्तानीका लागि दुई मुलुकबीच विज्ञ समूह बनाउने निर्णय भइसके पनि हालसम्म एक पटक पनि बैठक बस्न सकिरहेको छैन ।
काठमाडौँमा सुरु भएकाे बैठकमा भाग लिनका लागि चिनियाँ उपविदेशमन्त्री सुन वेइतोङ आइतबार नेपाल आइपुगेका छन् । उपविदेशमन्त्री सुनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका छन् ।
चिनियाँँ उपविदेशमन्त्री सुनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेटवार्तासमेत गर्ने कार्यक्रम छ।