होमपेज / समाज
काठमाडौँ । दक्षिण कोरियाको राजदूतका लागि सिफारिस भएका मानव अधिकारवादी नेता सुशील प्याकुरेलले बिना सल्लाह आफ्नो नाममा निर्णय भएको भन्दै प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै प्याकुरेलले सिफारिस फिर्ता लिनका लागि प्रधानमन्त्री कार्यालयमा औपचारिक रूपमा पत्र दर्ता गराइसकेको जानकारी गराएका छन् ।
उनले भनेका छन्, ‘आजै प्रधानमन्त्रीज्यूलाई सम्बोधन गर्दै सरकारले म प्रति देखाएको विश्वासका लागि धन्यावाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिनु हुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवत दर्ता गराइसकेको छु ।’
आफूलाई असार ७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार दक्षिण कोरियाको राजदूत पदमा नियुक्त गर्न सिफारिस गरिएको जानकारी सञ्चारमाध्यममार्फत पाएको पनि उनको विज्ञप्तिमा उल्लेख छ ।
‘मैले प्रस्ट शब्दमा उल्लेख गर्ने पर्छ, मलाई दक्षिण कोरियाको राजदूत पदमा सिफारिस गर्नु अघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क वा सङ्केत समेत दिइएन । राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रुचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थिति सम्बन्धी ज्ञानका विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु’, उनको विज्ञप्तिमा भनेका छन् ।
