होमपेज / समाज
काठमाडौं। कर्णालीका सवालमा राज्यको ध्यान केन्द्रित गराउन कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले देशको राजधानी काठमाडौंमा लालटिन जुलुश निकालेको छ । कर्णालीमा २५ वर्ष अघि स्थापना भएको कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले आफ्नाे स्थापना दिवसकाे अवसरमा लालटिन जुलुश निकालेकाे हो ।
२१ औं शताब्दीको सूचना र प्रविधिको युगमा समेत कर्णालीले जिविको निर्वाह, सँगै समानता, सामाजिक न्याय, समान ज्याला लगायतका विविध विकायमा भोग्नु परेका समस्याको समस्याप्रति सरकारको ध्यानाकर्षण गराउन शुक्रबार किर्डाक नेपालले सामाजिक अगुवाहरुको सहभागितामा भद्रकालीबाट बसन्तपुरसम्म लालटिन जुलुश निकालेको हो ।
सन् १९९९ मा स्थपाना भएको किर्डाक नेपालले आफ्नो २५औं स्थापना दिवसका अवसरमा कर्णालीका विभिन्न जिल्लामा कर्णाली समृद्धिको आधारको खोजी र सामाजिक न्यायको अनुभव कर्णालीमा गराउन आवश्यक पहलसहित विविध कार्यक्रमको आयोजना गरेको संस्थाका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले जानकारी दिनुभयो ।
लालटिन जुलुशपछि काठमाडौंको वसन्तपुरमा आयोजना गरिएको कोणसभालाई संवोधन गर्दै किर्डाक नेपालका संस्थापक अध्यक्ष मिनबहादुर शाहीले अन्याय विरुद्ध उभिएको सशक्त सामाजिक आन्दोलनबाट’ किर्डाक नेपालको स्थापना गरिएको उल्लेख गर्नुभयो ।
‘कर्णालीमा त्यसबेला समयमै उपचार नपाएर वर्षेनी ५ सय जना भन्दा बढीले अकालमै जीवन गुमाउनु पर्ने अवस्था थियो । कर्णालीको त्यस्तो दुरावस्था तत्कालीन सरकारले देखेन, सुनेन । त्यो कुरा सुनाउन र न्यायको खाेजी गर्न हामीले त्यसबेला लालटिन जुलुश नै गरेर किर्डाक नेपालको स्थापना गरेका थियौं', उहाँले थप्न्नुभयो, 'आजको संघीय लोकतान्त्रिक व्यवस्थामा समेत सरकारले कर्णालीलाई व्यवास्था गरेपछि, अन्य ठाउँको तुलनामा न्यायोचित व्यवहार गर्न र समन्यायिक विकासको अनुभूति कर्णालीलाई दिलाउनका लागि आज २५ वर्षपछि पनि लालटिन जुलुश निकालेका हौं ।'
संस्थाले द्वन्द्वकालमा समेत शान्ति र विकासको लागि क्रियाशील रहेको स्मरण गराउनुभएका अध्यक्ष शाहीले नेपालको द्वन्द्वकालमा किर्डाक नेपालले शान्ति स्थापना, सद्भाव, समानता र दिगोपनामा महत्वपूर्ण योगदान पुर्याएको दावी गर्नुभयो । उहाँले थप्नुभयो, ‘किर्डाक नेपालले शान्ति निर्माण र विवाद समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै समुदायलाई एकतावद्ध गर्न र सामाजिक सद्भाव प्रवर्द्धनात्मक गर्न कडा परिश्रम गर्दै आएको छ । किर्डाक नेपालले महिला तथा बालबालिकाको हकहितका लागि समेत दृढ वकालत गर्दै आएको छ । लक्षित कार्यक्रम मार्फत किर्डाक नेपालले महिलालाई शिक्षा, व्यावसायिक प्रशिक्षण र नेतृत्व कौशलको साथ सशक्तीकरण गरेको छ ।’
जलवायु परिवर्तनको सामना गर्दै, संस्थाले जलवायु न्याय, पर्वतीय एजेन्डालाई वातावरण संरक्षण र दिगोपन लाई बढावा दिने नीति र अभ्यासको वकालत गर्दै आएको किर्डाक नेपालले जनाएको छ । शान्तिपूर्ण र्याली समापन गर्दै किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले विपद् र मानवीय प्रतिकार्य प्रयासले प्राकृतिक विपत्तिको समयमा संसथाले महत्वपूर्ण सहयोग प्रदान गर्दै आएको बताउनुभयो । किर्डाक नेपालले विभिन्न समुदायलाई पुनर्निर्माण र पुनरुत्थान गर्न मद्दत गरेको उहाँको भनाई छ । उहाँले २५ वर्षे यात्रामा किर्डाक नेपाल सबै समुदायको हकहितको साथै मानव अधिकारको प्रवर्द्धन सक्रिय हुँदै फड्को मार्दै गएको उल्लेख गर्नुभयो । शान्तिपूर्ण लालटिन र्यालीमा गैरसरकारी संस्था महासंघका अध्यक्ष, विभिन्न संघ संस्थाका प्रतिनिधि र संचारकर्मीको सहभागिता रहेको थियो ।
२५औं वर्ष प्रवेशको अवसरमा किर्डाकले कालिकोटमा कर्णाली कचहरी, जुम्लामा कर्णालीको पहिलो सामुदायिक रेडियोको २१औं वार्षिक उत्सव, सुर्खेत, हुम्ला लगायतका स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।