होमपेज / समाज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्कँदै छन् । पौडेल जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज नेपाल फर्कने कार्यक्रम रहेको छ ।
राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
स्वदेशका लागि प्रस्थान गर्नुअघि राष्ट्रपति पौडेलले जर्मनीको पूर्वी वर्लिन क्षेत्रको अवलोकन भ्रमण गरे। मंगलबार नै उनले वर्लिनस्थित नेपाली राजदूतावासको पनि निरीक्षण गरे । त्यसक्रममा राष्ट्रपति पौडेलले नेपालमा जर्मनीको लगानी भित्र्याउन दूतावासले मेहनत गर्नुपर्न आावश्यक भएकाे बताए ।
यसअघि स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई गत जेठ ३१ गते राष्ट्रपति पौडेलले मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए ।
सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण हो।