होमपेज / समाज
हेटौँडा। हेटौँडामा पछिल्लो समय अत्याधिक गर्मी बढेपछि जनजीवन कष्टकर बनेको छ । अत्यधिक गर्मीका कारण बिहिबारदेखी शैक्षिक संस्थाहरू बन्द गर्नुपरेको छ ।
गर्मीको मार झेल्न नसक्ने अवस्थामा पुगेपछि हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू दुईदिन बिदा दियो ।
अत्याधिक गर्मीका कारण विद्यार्थीहरूलाई पठनपाठनमा असहज मात्र होइन धेरै विद्यार्थीहरू बिरामी समेत परेका छन्। गर्मीले विद्यालयमा पठनपाठनको वातावरण नै अनुपयुक्त बनाएको छ। विद्यार्थी, अभिभावक र शिक्षकहरूबाट विद्यालय बन्द गर्न अनुरोध आएपछि उपमहानगरले वर्षे बिदाबाट केही दिन कट्टी गरी विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
गर्मीकै समस्याले जनजीवन कष्टकर बनिरहेको समयमा बिद्युत प्राधिकरणले छिन-छिनमा बिजुली कटौती गरेर झन् समस्या थपेको छ। पछिल्लो दुई साताको अवधिमा हेटौँडा र आसपासका क्षेत्रमा बिधुत प्रसारण अनियन्त्रीत जस्तै बनेको छ ।
दिनमा ३५ पटकभन्दा बढी बिजुली जाने आउने समस्या यहाँका बासिन्दाले भोगिरहेका छन्। “झ्याप आउने झप जाने” बिजुली कटौतीले इलेक्ट्रोनिक सामग्रीहरू बिग्रने समस्या पनि उत्पन्न भएको छ।