होमपेज / समाज
काठमाडौं । सभामुख देवराज घिमिरेसँग संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अबदुल्ला सइद मुवारक जरवान अलसाम्सीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
आज बिहान भएको भेटवार्तामा सभामुख घिमिरेले नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै असल एवं मित्रवत सम्बन्ध रही आएकोमा सन्तुष्टि व्यक्त गरे ।
सभामुखले हालै सम्पन्न भएकाे तेस्रो नेपाल लगानी शिखर सम्मेलनमा सहभागी भएकोमा युएईलाई धन्यवाद व्यक्त गरे ।
सभामुखले नेपालबाट अलैंची, चिया लगायतका कृषिजन्य उत्पादन निर्यातको प्रचुर सम्भावना रहेको बताउँदै आवश्यक सहजिकरणको अपिल गरे ।
उनले युएईले स्वास्थ्य, शिक्षा, स्पेस प्रविधि, ऊर्जा र नवप्रवर्तन लगायतका क्षेत्रमा हासिल गरेको उल्लेखनीय प्रगतिका लागि बधाई दिए । ‘युएई राज्य स्थापना भएको केही दशकमै गरेको बृहत्तर प्रगति र समृद्धिका लागि युएईको दुरदर्शी नेतृत्वको प्रशंसा गर्दछु,’ उनले भने।
सभामुख घिमिरेले ठूलो संख्यामा नेपाली जनतालाई रोजगारीको अवसर उपलब्ध गराएकोमा युएई सरकारको प्रशंसा गर्दै उनीहरुको रोजगार तथा जीवन सुरक्षाकालाई विशेष ध्यान दिन अपिल गरेका छन् ।