होमपेज / समाज
गाेविन्द रावत, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्तापल जुम्लामा सवा करोड बजेटको लगानीमा ब्लड बैंक स्थापना गरिने भएको छ । अमेरिका नेपाल मेडिकल फाउण्डेसनको करिब एक करोड २३ लाख सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्लड बैंक स्थापना गरिने भएको हो ।
दुर्गम जुम्लामा कर्णाली विज्ञान प्रतिष्ठान स्थापना भएको १३ वर्षपछि ब्लड बैंक स्थापना गर्न लागिएको छ । विशेष चिकित्सकीय सेवा प्रदान गरिरहेको प्रतिष्ठानमा बजेट अभावले ब्लड बैंक स्थापना हुन सकेको थिएन । कर्णाली विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डाक्टर मंगल रावलले अमेरिका नेपाल मेडिकल फाउण्डेसनले केही समय अघि सिकागो सहरमा आयोजना गरेको तिन दिवसीय सभामा दुर्गमको स्वास्थ्य सेवाका चुनौति र संभावनाका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
उक्त प्रस्तुतीकरणमा उल्लेख गरिएका कर्णालीका स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै फाउण्डेसनको सवाँ करोड लगानीमा ब्लड बैंक स्थपना गरिएको उपकुलपति डाक्टर मंगल रावलले बताए । उपकुलपति डाक्टर रावललाई फाउण्डेसनको २८ औं साधारण सभामाका अवसरमा ब्लड बैंक स्थापना गर्न सहयोग रकम प्रदान गरिएको हो ।
सो अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र फाउण्डेसनबीच भविष्यमा हुन सक्ने सहकार्यका बिषयमा पनि छलफल भएको डा.रावलले जानकारी दिएका छन् । फाउण्डेसनको सभामा भाग लिन चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) का उपकुलपति प्रा.डा भुपेन्द्र बस्नेत, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रमोद जोशी लगायत नेपाली चिकित्सकहरु समेत सहभागी भएका छन् ।
फाउण्डेसनले नेपालको स्वास्थ्य क्षेत्र सुधारमा सहयोग र सहकार्य गर्दै आइरहेको छ । प्रतिष्ठान स्थापनाको १३ वर्षसम्म पनि ब्लड बैंक स्थापना नहुँदा विरामीलाई रगत आबश्यक पर्दा नेपाली सेना,सशस्त्र प्रहरी गुर्हानु पर्ने बाध्यता रहेको छ । पछिल्लो समयमा जुम्ला जिल्ला स्वास्थ्यसंग आधुनिक आविष्कार मा समेत अगाडि बढेको पाइन्छ।