होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापकहरुले तीन दिने अनुसन्धान पद्धति तालिम उपलब्धीमूलक भएको बताएका छन् ।
विश्वविद्यालयमा कार्यरत उपप्राध्यापकहरु खोज अनुसन्धानमा सक्रिय बन्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहज होस् भन्ने हेतुले सञ्चालन गरिएको तीन दिने तालिममा खोज अनुसन्धानका क्षेत्रमा जानेबुझेको कुराहरु पुर्नताजगी हुनुका साथै अनुसन्धानका क्षेत्रमा थप नयाँ कुरा सिक्ने अवसर मिलेको उपप्राध्यापकहरुले बताएका छन् । तीन दिने अनुसन्धान पद्धति तालिमको समापन समारोहमा सहभागी उपप्राध्यापकहरुले यस्तो बताएका हुन् ।
.jpg)
विश्वविद्यालयका रजिष्ट्रार प्राडा नारायणप्रसाद पौडेलले तालिममा सिकेका सैद्धान्तिक कुराहरुलाई उपप्राध्यापकहरुले आफ्ना खोज अनुसन्धानलाई प्रकाशनमार्फत सार्वजनिक गर्नुका साथै कक्षा कोठामा विद्यार्थीलाई ज्ञान हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
साथै उहाँले तालिममले विश्वसनीयता बढाउनुका साथै व्यक्तिलाई विश्वस्त बनाउन मद्दत गर्ने भएकाले समय समयमा यस्ता तालिमको आवश्यकता पर्ने औल्याउनुभयो ।
यसैगरी सेवा आयोगका सदस्य प्राडा रामेश्वर अधिकारीले अनुसन्धान सकारात्मक र नकारात्मक जस्तोसुकै भए पनि नयाँ कुरा पत्ता लगाउने भएकाले बारम्बार अनुसन्धान गरिरहनुपर्नेमा जोड दिनुभयो । ग्य्राजुयट स्कुल अफ म्यानेजमेन्टका डिन प्राडा दिपबहादुर रावलले अनुसन्धान कार्य पेशागत वृद्धिका लागि महत्वपूर्ण भएको बताउनु भयो ।
ग्य्राजुयट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्सेसका डिन सहप्राडा लिलाधर तिवारीले तीन दिने तालिमले सहभागीको ज्ञान र क्षमतामा भएको वृद्धिलाई कक्षा कोठामा उतार्न सकेको खण्डमा मात्र तालिमको उद्देश्य पूरा हुनेमा जोड दिनुभयो ।
यसैगरी तालिमका प्रशिक्षक तथा सहप्राडा आनन्दप्रसाद सुवेदीले तालिमले विद्यार्थीको सिकाइ प्रक्रियाका साथै मूल्यांकन प्रक्रियालाई समेत सुधार गरेर विद्यार्थीको गुणस्तर वृद्धि गर्नमा टेवा पुग्ने बताउनु भयो ।
.jpg)
सहभागीहरुको तर्फबाट कुरा राख्दै उपप्राध्यापक छबिता शर्माले विद्यार्थीहरुलाई नयाँ कुरा सिकाउनका लागि उपप्राध्यापहरुका लागि पनि समय समयमा विभिन्न विषयहरुमा तालिम र गोष्ठीको आयोजना बारम्बार हुनुपर्नेमा जोड दिनुभयो ।
तीन दिने अनुसन्धान पद्धति विषयक तालिमममा ग्य्राजुयट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्सेसका सम्पूर्ण उपप्राध्यापकहरुका साथै आंगिक क्याम्पसका उपप्राध्यापकहरुको समेत सहभागिता रहेको थियो ।
तीन दिने तालिम ग्य्राजुयट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्सेसका डिन सहप्राडा लिलाधर तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन लक्ष्मीप्रसाद बाँस्तोलाले गर्नुभएको थियो ।