होमपेज / समाज
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले धेरै कमाउने आशाले युवाको विदेश पलायन बढ्दै गएको बताउनुभएको छ । अनेरास्ववियुले आयोजना गरेको विद्यार्थी महोत्सव अन्तर्गत बिहीबार विद्यार्थी पलायनको अर्थ राजनीतिक आयाम विषयक प्यानल डिस्कसनमा भाग लिँदै पाण्डेले कृषिमा भन्दा बजारमा गरिने मजदुरीबाट राम्रो कमाई हुने भएपछि गाउँबाट सहर झरेका युवा अझ बढी कमाउने आसमा विदेश जाने क्रम चलेको बताउनुभयो ।
‘युवा विद्यार्थी पलायनको मुख्य कारण त्यहाँ गएर अड्किएको छ, किन भने यहाँ भन्दा त्यहाँ ज्याला धेरै, त्यहाँभन्दा पर ज्याला झन् धेरै, यसको मुख्य आकर्षण ज्यालादारी हो’, उहाँले भन्नुभयो । हिजो पहिलो विश्वयुद्ध पछि धेरै मानिसहरू युरोपबाट बाहिर पलायन भएकामा आज त्यहाँको आर्थिक अवस्था बलियो हुँदा नपढेका मात्र होइन पढेका मानिसको आकर्षण पनि युरोप बन्दै गएको उहाँले बताउनुभयो । आज ओर्किङ आवर कम र ज्याला दर बढी भएकोले युरोपमा आकर्षण बढेको उहाँले स्पष्ट पार्नुभयो ।
नेपालबाट युरोप जाने अधिकांश मानिसहरू श्रमिककै रूपमा जाने गरेको उहाँले बताउनुभयो । यसलाई बुझ्न सक्दा नेपालले युवा विद्यार्थीलाई देशमा नै राख्न कस्तो पोलिसी बनाउनु पर्छ भन्ने तस्बिर आउने उहाँले बताउनुभयो । आज नेपाली किन विदेश गए भन्ने कुराको प्रश्न आफूले आफैँलाई गर्नुपर्ने उहाँको भनाइ छ ।
कुनै पनि कुरा शतप्रतिशत हुन नसक्ने भएकोले हरेक प्रश्नको जवाफ आफूसँगै खोज्नु पर्ने उहाँले बताउनुभयो । नेपालको अर्थतन्त्र बलियो नभएसम्म मानिस विदेश जान नछाड्ने उहाँले बताउनुभयो । गाली गरेर समस्या समाधान नहुने उहाँले स्पष्ट पार्नुभयो ।
के गर्दा नेपालको विकास हुन्छ भन्ने कुरा खोज्दा मात्र विदेश पलायन रोक्न सकिने उहाँले प्रष्ट पार्नुभयो । हाम्रो सोचाइलाई देश बुझ्ने गरी नयाँ ढङ्गले जानु पर्ने उहाँको राय छ । ‘५० लाख भारतबाट र ५० लाख चाइनाबाट पर्यटक भित्र्याउने हो भने १० वर्षमा जीडीपी १० हजार नाघ्छ’, उहाँले भन्नुभयो ।
नेपालको पर्यटन, जलविद्युत, कृषि र नाफा हुने विकासमा केन्द्रित हुने हो भने नेपाललाई धनी देश बनाउन सकिने उहाँको धारणा छ । ‘हाम्रो देश हामी १० वर्षमा माथि उठान सक्छौँ, त्यो बाटो खोज्नु पर्छ, गाली गरेर होइन, समाधानको नयाँ उपाय खोजेर हामी जानु पर्छ’,उहाँले भन्नुभयो ।
विदेशमा पनि जागिर खान जाने कुनै पनि मानिस धनी नभएका उहाँले बताउनुभयो । त्यहाँ पनि व्यवसाय गर्न जाने मात्र धनी भएका कुरा बुझ्न आवश्यक रहेको उहाँको भनाइ छ । अमेरिका र अस्ट्रेलिया जानेहरू त्यतै नागरिकता पाउने भएकाले उनीहरूलाई देशमा नै राख्ने र देश फर्काउने विषयमा त्यति टाउको दुखाउन नहुने उहाँले बताउनुभयो ।
कोरिया, जापान, इजरायल लगायता देशमा जानेले त्यहाँको नागरिकता नपाउने भएकाले उनीहरूलाई कमाएर स्वदेश फर्कन र उद्यम गर्न उत्प्रेरित गर्नुपर्ने उहाँको सुझाव छ । खाडी मुलुक जानेलाई भने मासिक ४० हजार रुपैँया पारिश्रमिक दिने हो भने उनीहरू स्वदेशमा नै बसेर काम गर्ने पाण्डेको धारणा छ । त्यो जनशक्तिलाई देशमा रोक्ने र देशमा नै काम गर्ने वातावरण बनाउने गरी काम गर्नुपर्ने उहाँको राय छ ।