होमपेज / समाज
काठमाडौं । आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिनको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । बिहानै उठी नुहाई आफ्नी आमालाई उपहार दिई तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ ।
आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् , दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्नका लागि काठमाडौंको चन्द्रागिरिमा रहेको मातातीर्थमा मेला लाग्ने गर्छ ।
आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ । आमा नहुने नरनारी उक्त कुण्डमा स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजाअर्चना गरिरहेका स्थानीय नवीन न्यौपानेले बताए । मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनश्रुति छ ।