ट्रेण्डिङ

होमपेज / समाज

कतारी राजाको स्वागतमा सिँगारियो काठमाडौं

नेपालगाथा २०८१ बैशाख ११ गते मंगलबार १४:२२:०२ मा प्रकाशित

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि काठमाडौं सिँगारिएको छ । कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौंको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ ।

काठमाडौंका विभिन्न सडक चोकमा नेपाल र कतारको झण्डा फहराइएको छ । स्वागतद्वारामा नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिरको तस्वीर अङ्कित ब्यानर राखिएको छ ।उक्त ब्यानरमा जीवित देवी कुमारीले नमस्कार गरेको तस्बिर पनि आकर्षकरुपमा सजाइएको छ ।

उपत्यकाका संस्कृति परम्परा झल्कने विभिन्न तस्बिर अङ्कित ब्यानरले सर्वसाधारणको ध्यान आकर्षित गरेको छ ।‘कतारका मौसुफलाई हार्दिक स्वागत छ, कतारका अमिर र विशिष्ठ पाहुनालाई हार्दिक स्वागत छ’ जस्ता ब्यानरले काठमाडौंको सडक सजिएका छन् ।

विशिष्ठ पाहुना आवतजावत गर्ने सडकमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ । प्रत्येक स्वागतद्वारमा सुरक्षाकर्मीले पहरा दिइरहेका छन् ।

विमानस्थलदेखि राष्ट्रपति कार्यालय शीतलनिवास, राजा बस्ने पाँचतारे सोल्टी होटल, कार्यक्रम हुने स्थल द्वारिकाज होटलसम्मको सडक चिटिक्क पारिएको छ । काठमाडौं महानगरपालिका, गैरआवासीय नेपाली सङ्घ र नेपालस्थित कतार राजदूतावासले कतारका अमिरको भव्य स्वागतका लागि स्वागतद्वार निर्माण गरेका छन् ।

सरकारले कतारका अमिरबाट हुने नेपालको राजकीय भ्रमणका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले आजदेखि गर्ने नेपालको राजकीय भ्रमणका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुई दिने राजकीय भ्रमणमा आउँदै छन् । उनी बुधबार स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top