होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले प्राज्ञिक क्षेत्रले समाजको वौद्धिक विकास गर्नमा ठूलो भूमिका खेल्नुपर्ने बताउनुभएको छ । शुक्रबार नेपाल प्रगतिशील प्राध्यापक संगठन मध्यपश्चिम विश्वविद्यालय निकटका उपप्राध्यापक र कर्मचारीहरुसँगको भेटघाटमा मुख्यमन्त्री कंडेलले यस्तो बताउनुभएको हो ।
विश्वविद्यालय वौद्धिक व्यक्तिहरुको जमात भएकाले सोही अनुसारका गतिविधिहरु सञ्चालन गर्नुपर्ने बताउँदै मुख्यमन्त्री कंडेलले समाजका सबै वर्ग र तप्काका व्यक्तिहरुले दत्तचित्त भएर आआफ्नो क्षेत्रको विकासका बारेमा इमान्दार भएर काम गरेमा समाजको विकास सहजै हुनसक्ने बताउनुभयो ।

कर्णाली प्रदेशमा स्थापना भएको विश्वविद्यालयका प्राज्ञिक व्यक्तिहरुको कर्णाली प्रदेशको विकास गर्नका लागि महत्वपूर्ण योगदान गर्न सक्ने भएकाले मुख्यमन्त्री कंडेलले प्रदेशको बजेट निर्माणदेखि योजना निर्माणका काममा समेत सघाउ पुग्ने गरी वाैद्धिक जगतबाट उपयुक्त सल्लाह तथा सुझावको अपेक्षा गर्नुभयो ।

नेपाल प्रगतिशील प्राध्यापक संगठनका सल्लाहकार, केन्द्रीय सदस्य, मध्यपश्चिम विश्वविद्यालय कमिटीका पदाधिकारी, कार्यसमिति र सदस्यहरु कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री यामलाल कंडेललाई भेटेर बधाई तथा शुभकामना व्यक्त गर्न मुख्यमन्त्री कार्यालयमा पुगेका थिए ।

सोही अवसरमा मप विश्वविद्यालय कमिटीका अध्यक्ष रामप्रसाद कंडेलले विश्वविद्यालयका पछिल्ला गतिविधिका बारेमा मुख्यमन्त्री कंडेललाई जानकारी गराउनु भएको थियोे ।
यसैगरी नेपाल प्रगतिशील प्राध्यापक संगठनले विश्वविद्यालयका पछिल्ला गतिविधिका बारेमा चासो राख्दै विश्वविद्यालयका रजिस्ट्रार प्राडा नारायणप्रसाद पौडेल र कार्यकारी परिषद् सदस्य एवम् ग्य्राजुएट स्कुल अफ ह्युमानिटीजका डिन सहप्रा लिलाधर तिवारीलाई भेटेर विश्वविद्यालयका समसामयिक विषयका बारेमा ध्यानाकर्षण गराएको छ ।

