होमपेज / समाज
काठमाडौं। यसवर्ष चैत शुक्ल नवमी वैशाखमा परेकाे छ । यस दिनमा मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन भएकाले भगवान रामकाे पूजा आराधना गरिन्छ । राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा समेत लिइन्छ।
देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी राम नवमी पर्व मनाउँदै छन्।
जनकपुरधाममा रहेको रामजानकी मन्दिरमा पनि पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको छ। आज जानकी मन्दिर परिसरमा मेला पनि लाग्दछ। उक्त मेलामा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी भई पवित्र गंगासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्दछन्।
आज स्नान गरी पवित्र भएर व्रत बस्ने गरिन्छ भने रामगीता र रामायण पाठ पनि गरिन्छ। रामभक्तियुक्त भजनकीर्तनका साथ राति जाग्राम बस्ने परम्परा पनि छ ।