होमपेज / समाज
सुर्खेत । उपप्रधानमन्त्री एवम् गृह मन्त्री रवि लामिछाने र निर्वाचन आयोगबीच आगामी उपनिर्वाचन, २०८१ को तयारी र आचार संहिताको कार्यान्वयन, निर्वाचन व्यवस्थापन विधेयक तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को संशोधनका विषयमा भएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्रीले आयोगले उठाएका विषयहरूमा मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको र उक्त विषयमा थप छलफल र परामर्श गरी मन्त्रालयको तर्फबाट आवश्यक सहजीकरण गरिने बताउनुभयो ।
आगामी बैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनलाई आयोगले स्वीकृत गरेको आचार संहिता र दिइएको निर्देशन बमोजिम स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न गृह मन्त्रालय तथा नेपाल सरकारबाट कुनै कसर बाँकी नरहने गरी सहयोग हुने प्रतिवद्धता समेत गृहमन्त्रीले व्यक्त गर्नुभयो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले नेपालको संविधानमा सबै तहका निर्वाचनहरू र राष्ट्रिय महत्वको विषयमा जनमत संग्रह समेतको सञ्चालन रेखदेख, निर्देशन र नियन्त्रण गर्नका लागि स्थापित स्वतन्त्र एवं स्वायत्त आयोगको दायित्वका बारेमा प्रष्ट पार्नु भएको थियो ।